तानसेन नगरपालिकाले सडक विस्तारको काम थाल्यो

पाल्पा : तानसेन नगरपालिकाले सडक विस्तारको काम थालेको छ। जिल्ला सदरमुकाम तानसेनदेखि गुल्मीतर्फ जाने सडक विस्तार गर्ने काम थालेको हो।

तानसेन नगरपालिकाले तानसेनकै होलाङ्दीदेखि तानसेन  हुँदै ढुङ्गाखानीसम्म सडक बिस्तार गर्ने निर्णयअनुसार सडक फराकिलो बनाउने काम अगाडि बढाएको हो। नगरपालिकाले अहिले तानसेनको वनदेविबाट सडक फराकिलो बनाउने काम सुरु गरेको छ।

सडक विस्तार तथा फराकिलो पार्नका लागि ४० लाख बजेट विनियोजन गरेको तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले बताए। उनले भने नगरपालिकाले समय सापेक्ष सडक फराकिलो बनाउने छ। तानसेन–तम्घास सडकखण्ड साँघुरो हुँदा दिनहुँ हुने सडक जाको समस्या समाधान गर्न सडक फराकिलो बनाउन थालेको उनले बताए।

नगरप्रमुख शाहीका अनुसार यो वर्षदेखि सडक फराकिलो बनाउने काम सुरु भएको र आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइनेछ। सडक विस्तार गरेका स्थानीय बासिन्दासँग सहकार्य र छलफल गरेर तानसेन नगर कार्यपालिकाको बैठकले निर्णय गरेअनुसार सडक फराकिलो गरिने उनले बताए। तानसेन नगर कार्यपालिकाको बैठकले सडक केन्द्र भागदेखि दायाँबायाँ १०/१० मिटर सडक फराकिलो बनाउने निर्णय यसअघि नै गरिसकेको छ।

तानसेनको होलाङ्दीदेखि ढुङ्गाखानीको सडक बिस्तार गर्नेक्रममा दुई सयभन्दा बढी घरहरूमा क्षति पुग्ने अनुमान गरिएको छ। यद्यपि तथ्यांक लिने काम नसकिएको प्रमुख शाहीले बताए। केही घरहरू सडक विस्तार हुनुभन्दा अघि बनेका र केही घरहरू विगतमा तानसेन नगरपालिकासँग सडक विस्तार गर्ने क्रममा घर भत्काउने सहमतिपत्र बनाएर घरधनीले घर निर्माण गरेका थिए।

नगरपालिकाका अनुसार पहिले छ मिटर मात्र फराकिलो रहेको सडक अहिले १२ मिटर फराकिलो बनाइएको छ। १२ मीटर सडक बनेको खण्डमा तीन लेनको सडक विस्तार हुने र आगामी दिनमा ट्राफिक समस्या समाधान हुने नगरपालिकाले जनाएको छ।

तपाईको प्रतिक्रिया