ऐतिहासिक बाकुमगढीको संरक्षणमा नेपाली सेना

पाल्पा । नेपाली सेनाले गढी र किल्ला संरक्षण र त्यसको इतिहास संरक्षण योजना तयार गरेर काम अघि बढाएको छ । पाल्पा स्थित नेपाली सेनाको गोरखदल गणले सोही अनुसार बाकुम गढी किल्लालाई संरक्षण सुरु गरेको हो । नेपाल एकिकरणको युद्धमा प्रयोग गरिएको स्थान ओझेलमा परेको बाकुम गढीसम्म पुग्ने बाटो अप्ठ्यारो भएपनि सेनाले पहिलो पटक गढी पुग्ने ट्रयाक बनाएको हो ।
गोरखदल गणका गणपती सुरज थापाले नेपालमै फरक महत्वको स्थान बाकुम गढी गाउँपालिकाको सहयोगमा संरक्षणको कार्य प्रारम्भ गरिएको बताए । उनले गढी र किल्ला नेपाली सेनाले संरक्षण गरेर आउने पुस्तालाई समेत ऐतिहासिक दस्ताबेज तथा प्रमाण बनाउनका लागी संरक्षण र पर्वद्धन कार्यको सुरुवात गरेको बताए ।

जिल्लाको पूर्वखोला गाउँपालिका र रम्भा गाउँपालिकाको बिचमा अवस्थित बाकुम गढी यसअघि प्रचार अभावमा ओझेलमा रहेको थियो ।
नेपाली सेनाको प्राविधिक सहयोगमा बाकुमगढी संरक्षण उपभोक्ता समिति मार्फत् पूर्वखोला गाउँपालिकाले झण्डै डेढ किलोमिटर बाटो निर्माण भएको छ । नेपाली सेनाले चार दिन जनश्रमदान गरेर ४ दशमलव ५ फुटको बाटो निर्माण गरिएको हो । बाटो निर्माण भएसंगै गढीसम्म सहज रुपमा यात्रा गर्न सकिने भएको छ ।

बाकुम गढीलाई योजनावद्ध रुपमा विकास गरि पर्यटनको सम्भावना उजागर गर्नका लागी स्थानीय सरकारले पहल गरेको पूर्वखोला गाउँपालिकाका अध्यक्ष नून बहादुर थापाले बताए । स्थानीयहरुले भने केही दशक अघिसम्म पनि गढी क्षेत्रमा युद्धको समयमा प्रयोग गरिएका सामाग्री रहेको भएपनि अहिले ती सामाग्री हराएको बताए । ऐतिहासीक र पर्यटकीय गन्तव्यको रुपमा रहेको बाकुम गढी नजिकै प्राकृतिक गुफा समेत रहेको हुदा यसलाई प्रचार गरी पर्यटन पर्वद्धनमा टेवा पुग्ने स्थानीय बताउछन ।

बाकुम गढी वि.सं.१८४० मा निर्माण भएको थियो ।

तपाईको प्रतिक्रिया