तनहुँ ।नेपाली काँग्रेस जिल्ला कार्य समिति तनहुँले पार्टीका केन्द्रीय सदस्य रामचन्द्र पौडेलमाथि कारबाही गरिएको जनाएको छ । नेता पौडेलसहित सात जनालाई संगठन कमजोर बनाउन भूमिका खेलेको आरोप लगाइएको छ ।
नेपाली काँग्रेस तनहुँका प्रवक्ता हरिशरण पण्डितद्वारा जारी विज्ञप्तिमा पौडेललाई कारबाही गरिएको भनिएको छ । २०७४ सालमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली काँग्रेस तनहुँको तत्कालीन नेतृत्वको कमजोरीका कारण नेपाली काँग्रेसले लज्जास्पद हार व्यहोर्नु परेको थियो ।
असक्षम नेतृत्वको कार्य समितिलाई विघटन गरी २०७५ साल माघ ८ गते सम्पन्न नेपाली काँग्रेस तनहुँको विशेष अधिवेशनबाट नयाँ जिल्ला कार्य समिति गठन भई काम गर्दै आइरहेको छ ।
पार्टीका निष्ठावान, कर्तव्यनिष्ठ, इमानदार कार्यकर्ताहरुको विरुद्धमा वक्तव्यबाजी गर्दै केन्द्रीय कार्यालय सानेपामा गई पार्टी सभापतिसमक्ष अनावश्यक भ्रम र अफवाह फैलाई पार्टी हित विपरीत गई संगठन कमजोर बनाउन अहम् भूमिका निर्वाह गरेका केन्द्रीय सदस्य रामचन्द्र पौडेल, शंकर भण्डारी, महासमिति सदस्यहरु ध्रुव वाग्ले, रघुनाथ पौडेल, बैकुण्ठनाथ न्यौपाने, जितप्रकाश आले र क्षेत्रीय प्रतिनिधि विश्व बास्तोलालाई पार्टीको विधान अनुसार आवश्यक कारबाही गर्ने निर्णय गरिएको हो । जिल्ला अनुशासन समितिको सिफारिसका आधारमा जिल्ला कार्य समिति तनहुँका सभापति डिल्लीराम अधिकारीको अध्यक्षतामा बसेको बैठकले निर्णय गरेको छ ।’सफल खबर अनलाइनबाट