विष्णु पाण्डेय
बिर्घा(स्याङ्जा): कालीगण्डकी गाउँपालिकाले ‘सबै घरमा कागतीको बोट’ अभियान सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले सत प्रतिशत अनुदानमा कागतीको विरुवा वितरण गरिएको हो । गाउँपालिका क्षेत्रभित्रका ५३ सय घरघुरीलाई लक्षित गरी ५० हजार कागतीको विरुवा वितरण गरेको छ ।
गाउँपालिका क्षेत्रभित्र गत आवमा ०७४ र ०७५ मा २० हजार र यस आव ०७५ र ०७६ मा ३० हजार गरी हालसम्म ५० हजार कागतीको विरुवा वितरण गरिएका हो । गाउँपालिका क्षेत्रभित्र प्रत्येक घरधुरीलाई २० देखि ७० ओटासम्म कागती बिरुवा उपलब्ध गराउने नीति छ ।
गाउँपालिकाले १० लाख रकम विनियोजन गरी ३० हजार कागतीका बिरुवा वितरण गरिएको हो । वर्षभरि नै न्यानो र ओसिलो हावापानी चाहिन्छ । तुषारो नपर्ने भेग, एक सय मिटर देखि १८०० मिटर उचाइसम्मको हावापानीमा कागती खेती उपयुक्त हुन्छ ।
भौगोलिक वनावट र हावापानी कागती खेतीका लागि योग्य र सुंहाउदो भएकाले कालीगण्डकी गाउँपालिकामा कागती खेती उपयुक्त क्षेत्र हो ।
मानव स्वास्थ्यका लागि कागती आवश्यक पर्छ, कागतीमा भिटामिन सी पाइने र भिटामिन सी मानव स्वास्थ्यका लागि निकै लाभदायक हुदाँ यसको माग बढ्दो छ ।
कालीगण्डकी गाउँपालिका बिर्घाले प्रत्येक घरधुरीलाई कागती उत्पदानबाट बढी आर्थिक लाभ हुने प्रशासकीय अधिकृत गणेश खनालले बताए ।