सम्बन्ध बिच्छेदको १७ दिनपछि फेरि श्रीमानश्रीमति

अर्घाखाँची । लोग्नेस्वास्नीको झगडा परालको आगो नोली समाजको निकै प्रचलनमा रहेको उखान हो । अर्घाखाँचीमा एउटा दम्पतीले यो लोकोक्ती सत्य सावित गरेका छन्। उनीहरूले सम्बन्धबिच्छेद गरेको १७ दिनपछि अर्घाखाँची जिल्ला अदालतमा आएर फेरि कोर्ट म्यारिज गरेका छन्।

अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका–१ बस्ने लिलामनी पौडेल र सोही ठाउँ बस्ने गुल्मीको छत्रकोट गाउँपालिका–१ की जमुना पौडेलले असार ५ गते जिल्ला अदालत अर्घाखाँचीबाटै सम्बन्धबिच्छेद गरेका थिए। आफन्त र दुवैको सल्लाहअनुसार कुरा मिलेपछि सम्बन्धबिच्छेद गरेको लिलामनी–जमुना दम्पतिलाई अदालतले पुनर्मिलन गराएको हो।

पौडेल दम्पतीका ६ बर्से छोरा छन्। दुवैका अभिभावकलगायत आफन्तले छोराको मुख हेरेर पनि अलग्गिन नहुने भन्दै सम्झाएपछि उनीहरूको विचार फेरिएको लिलामनीले बताए। सबैले छोराका लागि मिल्नुपर्ने भनेर सम्झाएपछि उनीहरू फेरि सम्बन्ध गाँस्न अदालत आए। बहकाउमा पारपाचुके गरेको र अहिले फेरि सँगै बाँच्ने सँगै मर्ने बाचा कसमसहित बिहे गरेको जमुनाले बताइन्।

पतिपत्नीको नाता तोडिसकेपछि उनीहरूले गरेको कोर्ट म्यारिज मुलुकी संहिता लागू भएपछि अर्घाखाँची जिल्ला अदालतमा तेस्रो भएको स्रेस्तेदार गम्भीर घिमिरेले जानकारी दिए। वैवाहिक सम्बन्ध तोडेका दम्पतीले अदालतमा आएर फेरि बिहे गरी भएको पुनर्मिलनले समाजमा सकारात्मक सन्देश जाने अपेक्षा गरिएको स्रेस्तेदार घिमिरेले बताए।

नाता सम्बन्ध टुंग्याउने मुद्दा दर्ता भएपछि सम्बन्ध कायम हुने गरी नगन्य मात्र मिलापत्र भएको अदालतका सूचना अधिकारी टेकराज गैरेले बताए। उनले अधिकांश मुद्दामा पारपाचुकेका फैसला र केहीमा मात्र मिलापत्र भएको जानकारी दिए। प्रेम विवाह र वैदेशिक रोजगारीका कारण अर्घाखाँचीमा सम्बन्धविच्छेद गर्नेको संख्या बढेको अनुमान छ। यस वर्ष १ सय ५० यस्ता मुद्दा दर्ता भएका छन्। तीमध्ये ९८ को फैसला भइसकेको छ। ५२ को फैसला हुन बाँकी छ। वैवाहिक सम्बन्ध अन्त्य गर्नेमा ९० प्रतिशतभन्दा धेरै ३५ वर्षमुनिका छन्। ३५ वर्षमाथिका ४र५ जोडीले मात्र सम्बन्धविच्छेद गरेका छन्।

प्रेम विवाह, विदेसिएका पति र परिवारले पत्नीमाथि अनावश्यक शंका उपशंका गर्दा मेलमिलाप नहुँदा दिनहुँ झगडा हुनु सम्बन्ध अन्त्यको प्रमुख कारण बन्ने गरेको हो। सूचना प्रविधिको सहज पहुँच, बढ्दै गएको यौन खुलापन, छोराछोरीको चाहनाविपरीत बिहे गरिदिनु, आफूले चाहेकोसँग विवाह गर्न परिवार र समाज बाधक बन्नु, पतिरपरिवारले बुहारीरपत्नीको ख्याल नगर्दा पनि सम्बन्धविच्छेद बढेको अधिवक्ता तथा प्राध्यापक जगन्नाथ भुसालले बताए। ३ वर्षमा सम्बन्धविच्छेदका ५१ मुद्दामा बहस गर्दा पतिपत्नीबीच मनमुटावका कारण आफूले यस्तो पाएको उनले बताए।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer