पाल्पा । रम्भा गाउँपालिकाले चालु आवमा टुकीरहित उज्यालो रम्भा गाउँपालिका बनाउने घोषणा गरेको छ । अघिल्लो दुईवर्षमा ४ सय ८४ विद्युत् पोल गाउँपालिकाले खरिद गरिसकेको छ । त्यसका लागि विद्युत् प्राधिकरणसँग एक हजार पोल माग गरेको छ ।
चालु आवमा उज्यालो गाउँपालिका बनाउन एक लाख बजेट विनियोजन गरेको छ । गाउँपालिका प्रत्येक वडाका घरमा विद्युतको पहुँच रहेकोले चालु आवमा टुकीरहित उज्यालो गाउँपालिका बनाउन लागेको गाउपालिका अध्यक्ष विष्णु भण्डारीले बताए ।
गाउँपालिकालाई खरको छानामुक्त भएको गाउँपालिका घोषणा गर्ने अभियान ल्याएको छ । खरको छाना हटाउनका लागि ७० लाख बजेट छ । बाँकी रहेको खरका छानालाई पुग्ने गरी बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले बताए ।
३ सय १७ घरका लागिसबै हिसाबले टिन दिन पुग्ने गरी बजेट विनियोजन भएको छ । गाउँपालिकाको हुमीन बगचौरमा डेरी उद्योग स्थापना भएको छ । जहाँ गाउँपालिकाले एक लाख अनुदान दिएको छ । अर्को हुँगीमा पनि डेरी स्थापना भएको छ । आलुमा आत्मनिर्भर भएको र तरकारी खेतीका लागि पनि टनेल, स्मार्ट कृषि गाउँ लगायतका कार्यक्रम चलेको उनले बताए ।
रम्भा गाउँपालिकाले बुधबार वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । गाउँपालिका कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष विष्णुप्रसाद भण्डारीले ४० करोड २२ लाख भित्र रहेर वार्षिक बजेट तयार भएको बताए । उनले संघको सशर्त अनुदा १४ करोड, प्रदेशको सशर्त अनुदान ८० लाख, संघको राजश्व वाँडफाँड ६ करोड ५१ लाख, प्रदेशको राजश्वा बाँडफाँड ५२ लाख ८९ हजार रुपैयाँ रहेको जानकारी गराए ।
संघको वित्तीय समानिकरणको ८ करोड ८१ लाख प्रदेशको वित्तीय समानिकरण अन्तर्गतको ४१ लाख ३० हजार, सामाजिक सुरक्षा भत्रा ६ करोड, दलित बालपोषण भत्ता ३० लाख, प्रदेश समपुरक कोष १ करोड ५० लाख, विद्युत् रोयल्टी ३४ लाख, आन्तरिक आम्दानी ५० लाख रहेको अध्यक्ष भण्डारीले बताए ।
गाउँपालिकाका प्रवक्ता कृष्णप्रसाद रेग्मीले रम्भा गाउँपालिकालाई चालु आर्थिक वर्षमा पूर्ण सरसफाई उन्मूख, शून्य होम डेलिभरी, टुकीरहित गाउँपालिका, खरको छानामुक्त गाउँपालिका बनाउने योजना अघि सारेको बताए । संचारकर्मीले भने यसलाई महात्वाकांक्षी योजना भएको सुझाव दिए । त्यसका लागि सोही अनुसारको पर्याप्त बजेट व्यवस्थापन गर्नसमेत सुझाव दिए । गाउँपालिकाले पूर्ण सरसफाई उन्मूख वडा घोषणका लागि २ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।
रम्भामा भएका पाँच मध्ये ताँहु र हुमीन मात्र पूर्ण सरसफाई उन्मूख वडा घोषणा भएका छन् । त्यसबाहेक पिपलडाँडा, हुँगी, फोक्सिङकोट वडा बाँकी छन् । गाउँपालिकाका प्रवक्ता कृष्णप्रसाद रेग्मीले शून्य होम डेलिभरीका लागि एक लाख मात्र बजेट भएको बताए । उनका अनुसार सबै भन्दा कमजोर फोक्सिङकोटमा पनि ९० प्रतिशत संस्थागत सुत्केरी छन् ।