पाल्पा । रम्भा गाउँपालिका–१ हुगीस्थित जनकल्याण माविमा कृषिबाली विज्ञान पढाइ सञ्चालनमा आएको छ ।
गाउँपालिका अध्यक्ष भण्डारीले चालू आवमा विद्यालय भवन बनाउनका लागि रु २० लाख र प्राविधिक शिक्षा सञ्चालन गर्न भौतिक सामग्रीका लागि रु चार लाख बजेट विनियोजन गरिएको बताए ।
प्राविधिक धारतर्फ आगामी चार वर्षभित्र चारवटा कोठाको अभाव मेट्नका लागि भवन निर्माण गर्न थालेको हो । कृषिबाली विज्ञानतर्फ पढाइ सकेपछि रोजगार पाउने भएपछि विद्यार्थीको आकर्षण बढ्दो छ । यस क्षेत्रमा प्राविधिक धारका कक्षा सञ्चालन हुन नसक्दा यहाँका विद्यार्थी सदरमुकाम तानसेन र जिल्ला बाहिर धाउन बाध्य थिए ।
रम्भा गाउँपालिकाले कृषिबाली विज्ञान सञ्चालन गर्ने अनुमति प्रदान गरेपछि सदरमुकाम तथा जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेका कारण यस क्षेत्रका अभिभावक पनि खुशी भएका छन् । गाउँपालिकाले प्राविधिक धारतर्फ कृषिबाली विज्ञान कक्षा ९ देखि सञ्चालन गर्न अनुमति प्रदान गरिएको गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले बताउनुभयो । सो विषयमा विद्यालयलाई ४८ विद्यार्थीलाई पढाउन अनुमति दिएको छ ।
विद्यालयलाई पाँच लाख सहयोग
रम्भा गाउँपालिका–१ हुँगीका जनार्दन पन्थले पाँच लाख आर्थिक सहयोग गरेका छन् । विद्यालयका चारजना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने गरी पन्थले आर्थिक सहयोग गरेका हुन् । विद्यालयले प्रत्येक वर्ष छात्रवृत्ति प्रदान गर्ने विद्यालयका प्रअ युगराज पन्थले बताउनुभयो । अक्षयकोष दाता पन्थ हाल काठमाडौँमा बसोवास गर्दै आउनुभएको छ ।
विद्यालयलाई पाँच करोड अनुदान
पाल्पाको माथागढी गाउँपालिका ३, सराइस्थित दिव्यज्योति माविले रु पाँच करोड अनुदान पाउने भएको छ । नमूना विद्यालयका रुपमा छनोटमा भएपछि रु पाँच करोड अनुदान पाउने विद्यालयका अध्यक्ष रेखीराम रानाले बताए ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा नमूना विद्यालयको रुपमा छनोटमा परेपछि पाँच करोड अनुदान पाउन सफल भएको हो ।
नमूना विद्यालयले भौतिक पूर्वाधारलगायतका क्षेत्रमा काम हुने गरी रु ५ करोड अनुदान प्रदान गर्ने व्यवस्था मन्त्रालयको छ ।