पाल्पा । साउनको पहिलो साता वित्दासमेत पाल्पामा धान रोपाई सम्पन्न हुन सकेको छैन । अन्य जिल्लाहरुमा पानी परेपनि पाल्पामा पर्याप्त मात्रामा पानी नपरेका कारण टारी खेतहरुमा धान रोपाई हुन सकेको छैन ।
समयमा पानी नपरेका कारण यस वर्ष साउनको पहिलो सातासम्म ८० प्रतिशत खेतहरुमा मात्र धान रोपाई भएको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले जानकारी दिए । अघिल्लो वर्ष साउनको पहिलो सातासम्म ९५ प्रतिशत खेतहरुमा वर्षे धान रोपाई भइसक्ने गरेको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ ।
खोलाको नजिकमा रहेका फाटँहरुमा रोपाई भएपनि आकासे पानिको भरमा रोपाई गर्ने किसानले बीउँ छिप्पीसक्दा सम्म पनि पानी नपरेका कारण धान रोप्न नपाएको किसानहरुको भनाई छ ।
पाल्पाको कुल क्षेत्रफल मध्ये ८ हजार ७ सय ५० हेकटर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । ढिलो रोपाइँ भएपछि उत्पादनमा पनि ह्रास आउने कृषि ज्ञान केन्द्रले जनाएको छ ।