स्कुल विभागमा नारायणकाजीको टुंगो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्रको कार्यविभाजनमा स्कुल विभागले खडा गरेको अवरोध अन्त्य भएको बताइएको छ ।

नेकपाको एक उच्च नेतृत्वको सुत्रका अनुसार प्रवक्ता समेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ लाई स्कुल विभाग दिने सहमति बनेको छ । आज आइतबार बस्ने बैठकबाट निर्णय घोषणा हुने गरी दुई अध्यक्षबीच सहमति भएपनि बाँकी घोषणा समेत एकैपटक हुनेगरी बैठक सोमबार सम्मका लागि सारिएको छ ।

नेकपाका शिर्ष नेता माधवकुमार नेपाललाई विदेश विभाग, अर्का नेता झलनाथ खनाललाई नीति तथा अनुसन्धान र वामदेव गौतमलाई संगठन विभागमा सहमति भएको हल्ला यसअघि नै गरिएपनि स्कुल विभागको बारेमा धेरै दाबी प्रचारमा आएका थिए । स्कुल विभागबाट ईश्वर पोख्रेल टसकोमस नहुने भनेर हल्ला गरिएपनि पार्टी एकता र दुई स्कुलिङ्गको संवेदनशिलता ख्याल गरी उनलाई दिनै नहुने चर्को आवाज पूर्व एमालेबाटै उठेपछि घनश्याम भुसाल ,डा. बेदुराम भुसााल, राम कार्की, योगेश भट्टराई, टंक कार्की सम्मको नाम प्रचारमा आएको थियो ।

यसैबीचमा झलनाथको नाम अघि सारेर सहमति जुट्ने हल्ला पनि भए । तर पूर्व माओवादीधारका नारायणकाजीलाई स्कुल विभाग दिएर सन्तुलन मिलाउन माधव नेपालले समेत केपी ओली र प्रचण्डलाई सल्लाह दिएको सुत्रले बताएको छ ।

पार्टीका विभाग र आयोगहरुको टुंगो एकमुष्ट रुपमा सोमबारको बैठकले टुङ्ग्याउने बताइएको छ ।

तपाईको प्रतिक्रिया