
पाल्पा । रिब्दीकोट गाउँपालिकामा अघिल्लो वर्षको खर्च सार्वजनिक तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले सबैको गुनासा टिप्दै सुझावका रुपमा लिए । सार्वजनिक सुनुवाईमा उपभोक्ता समिति निर्माण गर्दा, स्थानीयस्तरमा कुनै पनि काम गर्ने क्रममा प्रतिपक्षीहरुको सहभागिता नगराईएकोमा आपत्ति जनाएका थिए ।
अघिल्लो पटकको सार्वजनिक सुनुवाईमा गरेका प्रतिवद्धता कार्यान्वयन नगरेको गुनासा पनि सहभागीले राखे । सबैको गुनासा सुनेका अध्यक्ष जिसीले कुनै पनि काम गर्दा र समिति निर्माणका क्रममा पक्षपात नगरिएको स्पष्ट पार्दै लोकतन्त्रमा सबैका सल्लाह र सुझावलाई आत्मसाथ गर्दै, समग्र गाउँपालिकाको विकासमा लागिपरेको बताए ।
उनले भने, सार्वजनिक सुनुवाईका क्रममा आएका सुझावलाई क्रमशः कार्यान्वयन गर्दै जानेछौं । उपाध्यक्ष लक्ष्मी खनालले स्वागत गर्दै, जनताको मत पाएका हामी जनप्रतिनिधी जनता प्रति उत्तरदायी छौं, भन्दै गाउँको समग्र विकासका लागि सबै एक जुट भएर लाग्नुपर्ने धारणा व्यक्त गरिन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम अर्जेलले विकासका लागि सहकार्य आवश्यक भएको औल्याए । नेकपा रिब्दीकोटका अध्यक्ष चिरञ्जीवी पोखरेलले सहमति, समझदारी र जिम्मेवारीका साथ सबै मिलेर काम नगर्दासम्म गाउँको विकास नहुने धारणा व्यक्त गरे ।
नेपाली काँग्रेस रिब्दीकोट गाउँ समितिका सभापति रामचन्द्र पाण्डेले प्रतिपक्षको भूमिकालाई सत्ता पक्षले स्थान नदिएको आरोप लगाए ।
विकास निर्माणका काममा सबै पक्षको सहभागिता आवश्यक हुने उनले बताए । नेपाल पत्रकार महासंघ जिल्ला सभापति राजेशकुमार अर्यालले लोकतन्त्रमा सूचनाका हक पनि महत्वपूर्ण पाटो भएको औल्याए । उनले यस्ता कार्यक्रमले जनप्रतिनिधीहरुमा पनि निखार आउने धारणा व्यक्त गरे ।
रिब्दीकोट वडा २ का वासिन्दा शेषनारायण पाण्डेले गाउँ कार्यपालिकाले मात्रै नभएर पाल्पाली मिडियाले समेत आफुहरुलाई स्थान नदिएको आरोप लगाए । वडा २ कै इन्द्रप्रसाद पाण्डे, ओमप्रसाद पोखरेल लगायतका स्थानीय वासिन्दाले, सिजी कम्पनीले स्थानीय जनताका समस्यालाई वास्ता नगर्दा पनि स्थानीय सरकारका पदाधिकारी मौन बसेको आरोप लगाए ।
वडा ६ का भरतबहादुर जीसील, वडाअध्यक्ष र जनप्रतिनिधीहरु जनताको सल्लाहमा भन्दा पनि आफु खुसी चलेको आरोप लगाए । भैरवस्थानका गोविन्दबहादुर पोखरेलले, भैरवस्थान मन्दिरमा आर्थिक अनियमितता भएको बताउँदै त्यस्तो कार्यमा संलग्न हुने पदाधिकारीहरुलाई कारवाही हुनुपर्ने माग गरे ।
ठिमुरेका किरण रायमाझीले वडा भवन अलपत्र भएकोमा जनप्रतिनिधीले किन वास्ता नगरेको भन्ने जिज्ञासा राखे । स्थानीय वासिन्दा तथा काँग्रेसका नेता कमल पौडेलले भैरवस्थान मन्दिरमा भएको अनियमितताको तत्काल छानविन गरी दोषी माथि कारवाही हुनुपर्ने धारणा व्यक्त गरे । स्थानीय दीपक पाण्डे, मेघराज आचार्य, दीपक पचभैया, दानबहादुर कुंवर, खड्कबहादुर थापा, कूलप्रसाद उपाध्याय, नरबहादुर बुँचा, गणेश मल्ल, धनबहादुर रायमाझी लगायत दर्जनौं स्थानीय वासिन्दा र सरोकारवालाले स्थानीय सरकार जनता प्रति उत्तरदायी हुनुपर्नेमा जोड दिए ।
कार्यक्रम गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जीसीको अध्यक्षता, उपाध्यक्ष लक्ष्मी खनालको स्वागत र गाउँपालिका स्वास्थ्य शाखाका प्रकाश ज्ञवालीको संचालनमा सम्पन्न भएको थियो ।