रैनादेवी छहरा क्षेत्रमा बाँदर आँतक, किसान हैरानीमा, गाउँपालिकालाई ‘नो मतलब’

रैनादेवी  । रैनादेवी छहरा गाउँपालिका क्षेत्रभित्रका अधिकाँश बस्तीमा बाँदरले अन्नवाली नष्ट गरेको छ । बाँरका कारण बाली नष्ट गरेपछि किसानहरु सास्ती खेपेका छन् । तर, गाउँपालिकाले आफुसँग बाँदर नियन्त्रण गर्ने वार्षिक नीति, कार्यक्रम र बजेट नभएको भन्दै तर्किन खोजेको छ । जनताबाट निर्वाचित जनप्रतिनिधिहरु जनताका अन्नवाली नष्ट हुँदा नीति, कार्यक्रम र बजेट छैन भन्दै उम्किन खोजेको देखिन्छ ।

यता, वर्षौदेखि बाँदर र बँदेल बस्ती प्रवेश गरी खेती नष्ट गरिदिदा किसानहरु पीडामा छन् । वर्षभरका लागि उत्पादित मकैमा घुगाँ हालेपछि बाँदरको हुल बारीमा प्रवेश गरी केही खाने र मकैको घुगा भाँच्दा किसानको वर्षभरिको मेहनत खेर गएको हो । बाँदरका कारण खेती नष्ट भएपछि किसानहरु चिन्तित बनेका छन् ।

मकै खेतीका लागि चैत बैशाखमा रोपेर भदौ असोज महिना स्याहादा बढी मात्रामा मेहनत लाग्छ । खेतबारी जोत्नुपर्ने, ढल्ला फुटाउनुपर्ने, मकैको झार हटाउने र मकैको जरा काटेर माटो हालिदिनुपर्ने बाध्यता हुन्छ । मकै उत्पादनमा गर्दा समय र लगानी बढी हुन्छ । तर, उत्पादित मकै किसानले बाँदरका कारण घरभित्र लैजान नपाउने समस्या पछिल्ला वर्षमा बढ्दो छ । रैनादेवी छहरा गाउँपालिकाको मुझुङ्ग, छहरा, भुवनपोखरी र सोमादी लगायतका क्षेत्रमा बाँदरको आतक रहेको छ ।

मकै बाली भित्रयाउने समयमा वस्ती आसपासका क्षेत्रमा बाँदरले विठाइ गर्न थालेपछि किसानहरु बाँदर आंतक रोक्न एकजुट हुन लागेका छन् । पछिल्ला वर्ष बाँदर गाउँमा बढी मात्रा देखिएको हो ।पहिला दश बीस ओटाको समुहमा आउने बाँदर अहिले सयको हाराबारीमा बाँदर बस्ती वारिपारि गर्दै हिडेको स्थानीयबासिन्दाको भनाई छ । सामुदायिक वन क्षेत्र संरक्षण मानिसहरु गाउँमा खेतीपाती गर्न छाडेर अन्यत्र गएपछि खेतीयोग्य जमिनमा जंगलको रुपमा बढ्दो छ ।

जसका कारण बनमा बाँदरका लागि आहारा प्रशस्त पाउन थालेपछि पहाडी जिल्ला पाल्पाका अधिकाश स्थानमा बाँदरका कारण स्थानीय बासिन्दाले समस्या खेप्न बाध्य हुनु परेको हो । रैनादेवी छहरा गाउँपालिका–४, दागिलका स्थानीय बासिन्दा दामोदर उपाध्यले विहानदेखि साँझसम्म बाँदर कुहुर्नुपर्ने बाध्यता रहेको गुनासो गर्नुभयो । उपाध्यले भन्नुभयो,“बस्तीमा बाँदर प्रवेश नगरोस् भनेर समुहमा नै बाँदर आउने बाटोमा बस्छांै, त्यहीबाट हामीले धपाउन सजिलो हुन्छ । सबैका हातमा लौरो लिएर बाँदर आतङ्क रोक्ने प्रयासमा जुटेका छौ ।”

रैनादेवी छहरा गाउँपालिका–४, दागिलका स्थानीय बासिन्दा अर्जुन खत्रीका अनुसार दिनरात बाँदर धपाउन समय खेर फाल्न बाध्य हुनुपरेको गुनासो पोख्नुभयो । दिनभर बाँदर धपाउन जादा अरु मेलापाता र दुई चार पैसा कमाउन समय नभएको खत्रीको गुनासो छ । वर्षभरका लागि मेहनत गरेको मकैबाली बाँदरले आदि भन्दा बढी अन्नवाली नष्ट हुँदै आएको गुनासो गर्दै स्थानीय सरकारले त्यसको व्यवस्थापनमा चासो नदिएकोप्रति आक्रोशित छन् बाँदर पिडित बस्तीहरु ।

गाउँपालिका प्रवक्ता विष्णु पोखरेलका अनुसार गाउँपालिकाले बाँदर नियन्त्रणलाई केही गर्न नसक्ने बताउनुभयो । “चाहेर पनि बाँदर नियन्त्रण गर्न सकिएको छैन”, पोखरेलले भन्नुभयो,“कानुनी रुपमा बाँदर नियन्त्रण गर्ने कार्यक्रम चाहियो ।” गाउँपालिकामा बाँदर नियन्त्रण सम्वन्धि कार्यक्रम तथा बजेट नभएको प्रवक्ता पोखरेललेका दावी छ ।

बाँदरको समस्याका कारण पाल्पाका अधिकाँश स्थानीय तहका किसानहरु पिडित बनेका छन् । स्थानीय तहले बाँदरको व्यवस्थापन वा बाँदरले नरुचाउने अन्नवाली, फलफूल उत्पादनमा चासो दिएको छैन ।

तपाईको प्रतिक्रिया