
पाल्पा । भ्रष्टाचारमुक्त समाजको निर्माण गरौं, धार्मिक तथा पर्यटनको प्रवद्र्धन गरौं’ भन्ने नाराका साथ नेपालका ७७ जिल्लाको भ्रमणका लागि साइकलयात्रामा निस्कनुभएका खोटाङका एक साइकल यात्री तानसेन आइपुग्नुभएको छ । साइकलयात्री कर्ण श्रेष्ठ ४५ औ जिल्लाको रुपमा पाल्पाको तानसेन आइपुग्नु भएको हो । गत साल चैत ३ गते खोटाङ जिल्लाबाट भ्रमण शुरु गरी तानसेन आइपुग्नुभएका साइकल यात्री श्रेष्ठले जिल्ला प्रशासन कार्यालय, तानसेन नगरपालिका, नेपाल पत्रकार महासंघ, उद्योग वाणिज्य संघसँग भेटघाट गर्नुभएको छ ।
भेटमा साइकल यात्री श्रेष्ठले नेपाल भ्रमणका क्रममा ४४ जिल्ला घुमिसकेको र अब ३२ जिल्ला बाँकी रहेको बताउनुभएको छ । देशमा देशलाई भ्रष्टाचारमुक्त बनाउनु पर्ने, समाजलाई रुपान्तरण गर्न घोकन्ते शिक्षाभन्दा व्यवहारिक शिक्षामा जोड दिनुपर्ने, नेपालमा खेर गइरहेको जडिबुटी प्रशोधन गर्नुपर्ने, कृषि प्रधान देश भएर पनि खाद्यान्न निर्यात भन्दा आयात बढि भएकोले आयातलाई प्रतिस्थापन गर्नुपर्ने, तराईका उर्वर भुमिलाई मरुभुमि हुनबाट जोगाउन औद्योगीकरण गर्नुपर्ने लगायतका सुझाव दिँदै अभियानको रुपमा नेपाल भ्रमण शुरु गरेको साइकल यात्री कर्ण श्रेष्ठले बताउनुभयो ।
खोटाङ जिल्ला दिक्तेल रुपाकोट मजुवागढी नगरपालिका वडा नं। ४ खाल्ले निवासी ३४ वर्षीय श्रेष्ठ अहिले सन्देश प्रवाहका लागि नेपाल भ्रमणमा हिडेको बताउनुभयो । उहाँले नेपाल भ्रमण सकेपछि विश्व भ्रमणमा निस्किने बताउनुभयो ।
साइकल यात्री श्रेष्ठले स्थानीय श्रोत र साधनको उपयोग भएमा मात्रै सुखी नेपाली र समृद्ध नेपाल बन्ने धारणा राख्नुभएको थियो । आफूले एउटा साइकल चढेर भ्रष्टाचार न्यूनीकरण नहुने तर आफ्नो सन्देश ७७ जिल्लामा फैलाउने चाहेको जानकारी दिनुभयो ।