
पाल्पा । नेपाली सेनाले अंग्रेजलाई युद्धमा विजय गरेको सम्झनामा पाल्पामा प्रत्येक वर्ष भगवतीको रथयात्रा निकालदै आईएको छ । भाद्र कृष्ण नवमीका दिन निकालिने भगवतीको सिन्दुर जात्राले नेपालीको उत्सवको रुपमा लिने गरिन्छ ।
पाल्पाली सेना र इष्ट इण्डियाको फौजबीच नुवाकोट–बुटवल क्षेत्रमा भएको युद्धमा अंग्रेज फौजलाई नेपाली सेनाले पराजित गराएको खुसीयालीमा पाल्पामा २ सयवर्षदेखि भगवतीको रथयात्रा निकालदै आईएको छ ।
पाल्पाली फौजको नेतृत्व कर्णेल उजीरसिंह थापाले युद्धमा जानुअघि तानसेनमा रहेको भगवती देवीको मन्दिर अगाडी अंग्रेज सेनालाई हराउने बरदान मागेको र सोहिअनुसार विजय भएको खुसियालीमा जात्रा निकालने गरिएको भगवती गुठीका अध्यक्ष राजेश्वर उदयले बताए । उनले जात्राले दुई सताप्दी पार गर्दासम्म पनि सरकारले यसलाई ध्यान नदिएको गुनासा गरे ।
विगतमा जात्रा संचालनका लागि १ हजार रुपिया सहयोग गर्ने जिल्ला प्रशाासन कार्यालयले अहिले ५ हजार रुपिया सहयोग गर्ने गरेको उनले बताए । करिब ४ लाख ५० हजार बढीको खर्च आउने जात्रा संचालनका लागि ५ हजार मात्र सहयोग हुदाँ जात्रा संचालनमा समस्या भएको उनको भनाई छ ।
हरेक वर्ष भाद्र कृष्ण अष्टमीको सांझ जाग्राम बसेर मध्यरातमा भगवतीको पुजा आजा गरी भाद्र कृष्णनवमीका दिन तानसेनका सबै क्षेत्रमा रथयात्रा निकाल्ने गरिन्छ ।
भगवतीको रथलाई जय जयकारको गुञ्जन ध्वनिसहित नेपाली सेनाको सलामी दिएपछि तिन पटक मन्दिर परिक्रमा गरि ‘कर्णेली पुजा’ दिएपछि नगरपरिक्रमा गराई साझ मन्दिरमा भित्राउने गरिन्छ ।