
पाल्पा : रैनादेवी छहरा गाउँपालिका–४, डोकोडाँडाकी ६५ वर्षीय महिलाको अझै नागरिकता नबन्दा सरकारी सेवासुविधाबाट बञ्चित हुन बाध्य बनेकी छन् । पूर्ण कुमारी कामीको माइती पहिचान हुन नसक्दा अझै नागरिकता बन्न नसकेको हो ।
नागरिकता नहुँदा सरकारबाट प्रदान गरिने हरेक प्रकार सेवा सुविधाबाट कामी बञ्चित छन् । कामीको डिलबहादुर कामीसँग विवाह गरी डोकेडाडाँमा बसोबास गर्दै आउनुभएको हो ।
“सानो छदाँ पाल्पाको ठूलो हटियामा नेवारले लिएको सम्झना मात्र छ । सानै उमेरमा माइतबाट ल्याइएकोले सबै कुरा थाहा छैन । गुल्मीको तम्घाँसतिर मेरो माइत हो भन्ने मात्र थाहा छ,” कामीले दुखेसो पोख्नुभयो । कामीलाई कुन गाउँ हो, त्यो पनि थाहा नहुँदा नागरिकता बनाउन नसकेको हो ।
विवाहित महिलाको नागरिकता बनाउन माइती आमाबुबाको नागरिकता अनिवार्य छ । विवाहित महिलाको नागरिकता बनाउन र विवाह दर्ता गर्नका लागि माइती पक्षको आमा बुबाको पहिचान हुनुपर्ने व्यवस्था कारण नागरिक जारी हुन नसक्दा बुढेशकालमा समस्या खेप्न बाध्य बनेको गुनासो छ ।
वंशजका आधारमा १६ वर्ष उमेर पुरा गरेपछि नेपाली नागरिकता पाउने अधिकार छ । तर, कामीले ६५ वर्षको उमेरसम्म हातमा नागरिकता बन्न सकेको छैन । जसका कारण कामीले समस्या खेपिरहेकी छन् ।
नागरिक नहुँदा सामाजिक सुरक्षा भत्ता समेत पाउनबाट बञ्चित छन् । बुढेशकाल लागेर अन्य मजदुरी गर्ने सकिदैन । तर, पनि मेलापाता गरी साँझविहान चुलोमा आगो बाल्ने काम भएको छ । श्रीमानको चार महिनामा चार हजार वृद्ध भत्ता आउने गर्छ । त्यही नै परिवारका लागि छाँक जुटाउन सहयोग हो ।
नागरिकता बनाइदिन कहीकतैबाट पहल नहुँदा वृद्धा महिला समस्याको भारी बाहेक अरु केही छैन । स्वास्थ्य बीमा, दलित जेष्ठ नागरिकका सुविधा पाउन मुश्किल छ । स्थानीय, प्रदेश र सँघका निर्वाचनमा जनप्रतिनिधि चुन्न नपाएकोमाम पूर्ण कुमारी कामीको मन खिन्न छ । नागरिकता मात्र होइन, विवाह दर्ता समेत बन्न सकेको छैन ।
डिलबहादुरसँग पूर्ण कुमारीको दोस्रो विवाह हो । डिलबहादुरतर्फ पूर्णकुमारीको सन्तान भएनन् । डिलबहादुरका जेठी श्रीमतितर्फ ३ छोरा र १ छोरी छन् । डिलबहादुर पूर्णकुमारी एउटा घरमा बसोबास गर्छन । दुवैजना बुढेशकाल लागेकोले काम गर्न सक्दैनन् । बुढेशकालमा पूर्णकुमारीलाई नागरिकता बनाउन रहर जागेको छ ।
रैनादेवी छहरा गाउँपालिका–४ का वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता विष्णु पोखरेलले गाउँपालिका अध्यक्ष संरक्षकत्वमा नागरिकता जारी गर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार नै पूर्णकला कामीको नागरिकता बनाउन गाउँपालिकाले सहयोग गर्ने प्रतिवद्धता वडाध्यक्ष पोखरेलको छ ।