पाल्पा । कोभिड-१९ अर्थात कोरोनाको सङ्क्रमण बिश्वब्यापी रुपमा फैलिरहेका बेला नेपाल पनि यय भाइरस संक्रमणको उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
नेपालमा उच्च जोखिमको रुपमा रहेको कोरोनाको संक्रमणबाट बाच्नका लागि नेपाल टेलिभिजन संस्थानले पनि कोभिड-१९ र्यापिड रेस्पोन्स टिम गठन गरेको छ ।
संस्थानका निमित्त नायब महाप्रबन्धकको संयोजकत्वमा कोभिड १९ र्यापिड रेस्पोन्स टिम गठन गरिएको हो ।विश्वभर फैलिएको यस भाईरसको संक्रमण फैलन नदिन नेपाल सरकारले बिभिन्न सचेतनामूलक कदमहरु चालिरहेको सर्बविदितै छ ।
राष्ट्रिय संचार माध्यम हुनुको नाताले नेपाल टेलिभिजनले जस्तोसुकै आपतकालीन अबस्थामा पनि निर्वाह गर्नुपर्ने दायित्व र कर्तब्य ठूलो भएकाले संस्थानका कर्मचारी र पत्रकारहरुको सुरक्षालाई नेपाल टेलिभिजन व्यवस्थापनले गम्भीर रुपमा लिएको हो ।
संस्थानबाट हालसम्म चालिएका कदमको समिक्षा गर्न संस्थानका कार्यकारी अध्यक्ष तथा महाप्रबन्धक समेतको उपस्थितिमा २०७६ चैत्र ५ गते बृहत छलफल समेत गरेको छ ।
छलफल पश्चात कोरोनाको सम्भावित जोखिम न्यूनिकरणका लागि अपनाउनुपर्ने सावधानीका निम्ति नेपाल टेलिभिजनले संस्थानका निमित्त नायब महाप्रबन्धक बिष्णुराम न्यौपानेको संयोजकत्वमा कोभिड १९ र्यापिड रेस्पोन्स टिम गठन गरेको हो ।
टिमको चैत्र ६ गते बसेको बैठकले गरेको निर्णय अनुसार सबैको जानकारीको लागि हार्दिक अपिल सहित यो सूचना जारी गरिएको छ ।
सुचनाहरू यसप्रकार रहेका छन्ः
- कार्यालयका बिभिन्न ठाँउमा साबुन पानीको उचित प्रबन्ध मिलाइएको छ । अतः कार्यालय प्रवेश गर्दा वा केही काम गरिसकेपछि मिचिमिचि साबुन पानीले हात धुन अनुरोध छ ।
- कार्यालयको गेटमा, भवनहरुको मूल ढोकामा र कार्यकक्षहरुमा पर्याप्त मात्रामा स्यानिटाइजरको व्यवस्था गरिएको छ । चिसो हातमा स्यानिटाइजर नलगाउन र लगाइसकेपछि केही समय हात सुख्खा राख्न अनुरोध छ ।
- पत्रकार र कर्मचारीहरुको स्वास्थ्यलाई मध्यनजर गरी मास्क र पञ्जाको व्यवस्था गरिएको छ । क्यामरापर्सन, दृष्य सम्पादक, भिटिआर, साउण्डम्यान, स्टुडियो प्रोड्युसर लगायत कम्प्युटरमा बसेर काम गर्ने पत्रकार तथा कर्मचारीहरुलाई आबश्यकता अनुसार पञ्जाको प्रयोग गर्न अनुरोध छ । रिपोर्टिङ लगायत फिल्डमा गएर काम गर्दा सबैलाई मास्क प्रयोग गर्न पनि अनुरोध छ । मास्क र पञ्जा सम्बन्धित महाशाखामा प्रशासन हेर्ने कर्मचारीहरुबाट लिन सकिने गरी व्यवस्था मिलाइएको छ । उनीहरुबाट ति सामग्री उपलब्ध हुनेछन् ।
- एकपटक कार्यालय प्रवेश गरिसकेपछि कुनै अत्यावश्यक काममा बाहेक कार्यालय समयमा कार्यालय बाहिर ननिस्कन अनुरोध छ । निस्कनैपरे महाशाखा प्रमुख, शाखा प्रमुख वा गेटमा जानकारी गराई निस्कन र फर्केपछि सुरक्षा सतर्कता अपनाउन अनुरोध छ ।
- क्याण्टिनमा हुने भिडभाडको जोखिम, व्यक्तिगत स्वास्थ्य र धेरै जना एकै ठाँउमा भेला हुन नहुने सरकारको निर्णयलाई समेत दृष्टिगत गरी सकेसम्म घरबाटै खाजा ल्याएर खाने व्यवस्था मिलाउन अनुरोध छ ।
- सङ्क्रमण नियन्त्रणको प्रमुख उपाय सरसफाई पनि भएकाले शौचालय लगायतका स्थानहरु निरन्तर सफाई गर्ने व्यवस्था मिलाइएको छ । यसमा व्यक्ति स्वयंको भूमिका पनि प्रभावकारी हुने भएकाले शौचालय प्रयोग र सफाईमा विशेष ध्यान दिन अनुरोध छ ।
- Infrared Thermometer मार्फत तापक्रम मापन गर्ने व्यवस्था त्तत्काल गरिदैछ । त्यसैले आफूलाई ज्वरो आएको महसुस भए तापक्रम मापन गरी ज्वरो नआएको एकिन गरेर मात्रै कार्यालय भित्र प्रवेश गर्न पनि अनुरोध छ ।
- कथंकदाचित आफूमा कोभिड-१९ को लक्षण भएको महसुस भएमा कार्यालयमा उपस्थित नहुन, स्वास्थ्य परीक्षण गराउन र कार्यालयमा जानकारी गराउन हुन अनुरोध छ ।
यस्तै टिमले सम्भावित जोखिम न्यूनिकरणका लागि कुनै सुझाव दिन वा कुनै सामग्री आबश्यक परेमा वा तत्काल कुनै समस्या परेमा र्यापिड रेस्पोन्स टिमसंग सम्पर्क गर्नुहुन अनुरोध गरेकाे छ ।
कोरोना भाइरसको सम्भावित जोखिम न्यूनिकरणमा सबैभन्दा महत्वपूर्ण भूमिका व्यक्ति आफैंको हुने भएकाले बिशेष सजग र चनाखो हुन सम्पूर्ण कर्मचारी तथा पत्रकारहरुलाई अनुरोध समेत नेपाल टेलिभिजन संस्थानले गरेकाे छ ।