पाल्पा । पाल्पा जिल्लामा पहिलोपटक कोरोना भाइरस संक्रमण देखिएको छ। पाल्पाका तीन जनामा कोरोना संक्रमण देखिएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाले जनाएको छ।

माथागढी गाउँपालिकाको क्वारेन्टिनमा बसेका १८ वर्षीय पुरुष र रैनादेवी छहराको क्वारेन्टिनमा बसेका ३८ र ४० वर्षीय पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो। उनीहरु एक साता अघि भारतबाट आएर तानसेनको बतासेडाँडाको होल्डिङ क्वारेन्टिनमा बसेर स्थानीय तहको क्वारेन्टाइनमा पठाईएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ।

माथागढीका संक्रमितको बतासेमै स्वाब लिएर पठाएको र रैनादेवी छहराका दुई जनाको भने गाउँमै स्वाब लिइएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिए।

माथागढीका युवालाई सोमबार र रैनादेवी छहरामा देखिएकालाई आइतबार राती या सोमबार बिहान आइसोलेशन कक्षमा ल्याइने तयारी भएको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले जानकारी दिए।

तपाईको प्रतिक्रिया