कोरोना विरुद्धको खोप लगाएपछि रेष्टुरेन्टमा विशेष छुट

एजेन्सी । दुबईमा कोरोना भाइरस विरुद्धको खोप लगाएका व्यक्तिलाई रेष्टुरेन्टहरुमा विषेश छुटको व्यवस्था गरिएको छ ।

रेस्टुरेन्ट सञ्चालकहरुले खोप लगाउने अभियान प्रभावकारी गराउन र खोप लगाउन प्रेरित गर्नका लागि छुटको व्यवस्था गरेका छन् ।

संयुक्त अरब इमिरेट्सका कूल एक करोड बासिन्दा मध्ये अहिले झण्डै २५ लाख मानिसलाई कोरोना विरुद्धको खोप लगाइसकिएको अधिकारीहरुले जनाएका छन् ।

धेरै जनालाई खोप लगाएका मुलुकहरू मध्ये इजरायलपछि युएइ विश्वभरीको दोस्रो क्रममा रहेको जनाइएको छ ।

रेष्टुरेन्ट व्यवसायीहरुले पहिलो खोप लगाएकालाई १० प्रतिशत र दोस्रो खोप लगाएकालाई २० प्रतिशत छुटको व्यवस्था गरेका छन् ।

छुट सुविधा उपभोग गर्नका लागि खोप लगाएको आधिकारीक प्रमाणपत्र पेश गर्नु पर्ने सर्त राखिएको छ ।

रेस्टुरेन्ट व्यवसायीहरूको यस अभियानलाई धेरैले सकारात्मक रुपमा लिएका कारण सामाजिक सञ्जालमा समेत प्रशंसा भइरहेको छ ।

युएइमा चीनमा विकास गरिएको सिनो फार्म र अमेरिकी र जर्मनी साझेदारले विकास गरेको फाइजर खोप लगाइएको छ ।

सिनो फार्म खोप अहिले पनि निःशुल्क उपलब्ध गराइएको अधिकारीहरुले जानकारी दिएका छन् । युएइमा आइतबार थप तीन हजार ५७९ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

योसँगै युएइमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ७७ हजारभन्दा बढी पुगेको छ । युएइमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरु मध्ये अहिलेसम्म ७९२ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया