लैङ्गिक हिंसा न्युनिकरणका लागि सहकार्य आवश्यक

अम्बिका परियार

बुटवल । लैङ्गिक हिंशा न्युनिकरणका लागि अधिकारका क्षेत्रमा काम गर्ने महिलाहरुले सहकार्य गर्न आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

सञ्चारिका समूह रुपन्देही र साहसी कदम नेपालले सामाजिक अभियान्ता र पत्रकार महिला बीचमा (आज) शनिवार बुटवलमा आयोजना गरेको अनुभव आदान प्रदान कार्यक्रमका सहभागिहरुले उक्त कुरामा जोड दिएका हुन् ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभाका उपसभामुख कृष्णी कुमारी थारुले लैङ्गिक तथा यौनिक अल्पसंख्यकको मुद्धालाई बलियो बनाउन सामाजिक अभियान्ता अझै जागरुक हुनुपर्ने बताइन ।

महिलाहरु आर्थिक क्षेत्रमा आत्मनिर्भर नहुँदा सधैँ पछाडि पर्ने भएकाले उद्योग, पर्यटन जस्ता क्षेत्रमा महिलालाई सक्रिय सहभागी बनाउनुपर्ने कुरामा जोड दिदै महिला अधिकारको रक्षा र शशक्तीकरणको सवाललाई बलियो बनाउन सञ्चार गृह र महिला पत्रकारको विशेष भूमिका रहने बताइन ।

त्यसो त थारुले आफु कम्लहरी हुँदा धेरै पिडा सहेकाले अरुले अन्याय सहन नपरोस् भन्ने उद्देश्यले नै मुक्तीको आन्दोलनको नेतृत्व गर्दै गर्दा प्रदेश सभाको यात्रा तय भएको र उपसभामुख सम्म बन्न सफल भएको अनुभव सुनाउदै संघर्षबाट पाठ सिकेर अगाडि बढेको बताइन ।

उपसभामुख थारुले प्रदेश सभाबाट लैङ्गिकमैत्री कानून बनाउन आफ्नो सक्रियता रहने प्रतिवद्धता व्यक्त गरिन ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेशका प्रमुख सम्झना शर्माले अधिकारमूखी संस्थामा काम गर्दा समेत लैङ्गिकमैत्री वातावरण नहुँदा समस्या भोग्नुपरेको अनुभव सुनाइन ।

उनँले नेतृत्व तहमा रहेका महिलाहरुलाई हेर्ने दृष्टिकोण पनि अझै सकारात्मक नहुनुका साथै नेतृत्व स्विकार गर्न समेत आनाकानी गर्ने गरेको बताइन ।

गैर सरकारी संस्था महासंघका केन्द्रिय उपाध्यक्ष सुमित्रा शर्माले “पितृसतात्मक सोंच र व्यवहारका कारण सामाजिक क्षेत्रमा काम गर्ने महिलाहरुले समस्या भोग्नु परेकाले सबै मिलेर सशक्त ढंगले आवाज उठाउनुपर्नेमा दावी थियो ।

सञ्चारिका समूह रुपन्देहीका सल्लाहकारहरु माया गौतम, इन्दिरा अर्याल र अमृता अनमोलले महिला भएकै कारण पत्रकार महिलालाई गर्ने व्यहार फरक भएको बताउदै परिवर्तनका पक्षमा निरन्तर कलम चलाउनुपर्ने बताइन ।

कदम नेपालका अध्यक्ष इन्दिरा आचार्यले हिंसा प्रभावित महिलाको न्याय र अधिकारका लागि काम गर्दा मानसिक रुपमा समेत पिरोलिनुपरेको अनुभव सुनाउँदै उनले सञ्चारसंस्थामा समाचार आएकै कारण पीडितलाई न्यायका लागि बल मिल्ने बताइन ।

कार्यक्रममा सञ्चारिका समूहका उपाध्यक्ष मिना ढकाल,सामाजिक अभियान्ताहरु रोटरी क्लब अफ तिनाउ बुटवलकी अध्यक्ष ज्ञानधरा पन्थ ,रिता सेन, राधा भट्टराई, रिमा बिसी, रचना पन्त, जानकी घिमिरे, सरस्वती रिजाल लगायतले समाज परिवर्तनका लागि सामाजिक अभियान्ता र पत्रकार महिलहरु एक भएर लाग्नुपर्ने बताइन ।

तपाईको प्रतिक्रिया