
पाल्पा । पत्रकारिताको माध्यमबाट खेलकुद क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै युवा तथा खेलकुद मन्त्रालयले पत्रकार माधव अर्याललाई पुरस्कृत गरेको छ ।
कान्तिपुर दैनिकका उपसम्पादक अर्याल आइतबार युवा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा नगद २५ हजार, प्रमाणपत्रसहित खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट पुरस्कृत भएका हुन् ।
नेपाल खेलकुद पत्रकार मंच पाल्पाका संस्थापक अर्याल लामो समयदेखि खेलकुद पत्रकारितामा कलम चलाउँदै आएका छन् ।
युवा तथा खेलकुद मन्त्री दाबा तामाङ, युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष देवेन्द्र सुवेदी लगायतले अर्याललाई पुरस्कृत गरे ।
दुई दशक भन्दा लामो समयदेखि पत्रकारितामा संलग्न अर्याल खेलकुद पत्रकार मञ्चबाटसमेत उत्कृष्ट पत्रकारिता पुरस्कार पाइसकेका छन् ।