
तानसेन । नेपाल पत्रकार महासंघ पाल्पा शाखाले कोरोना संक्रमित संचारकर्मी राख्नका लागि आफ्नै भवनमा आइसोलेशन कक्ष निर्माण गरेको छ ।
पछिल्लो समय जिल्लामा उच्च गतिमा संक्रमण बढेको र अस्पतालहरुमा समेत बेड अभाव भएको हुँदा महासंघले आफ्नै भवनमा ५ बेडको आइसोलेशन कक्ष निर्माण गरेको हो ।
स्थानीय तहहरुको सहयोगमा निर्माण भएको आइसोलेशन कक्षमा अक्सिजनको समेत व्यवस्था गर्ने तयारी गरिएको महासंघका पाल्पा शाखा अध्यक्ष रेखिराम रानाले जानकारी दिए ।
विभिन्न स्थानमा घर भई हाल सदरमुकाममा डेरा गरेर बस्ने पत्रकारलाई संक्रमण भएपछि हुनसक्ने जोखिमलाई मध्यजनर गर्दै आफ्नै भवनमा आइसोलेशन कक्ष निर्माण गरिएको अध्यक्ष रेखिराम रानाले बताए ।
आइसोलेशन निर्माणका लागि जिल्लाका तानसेन नगरपालिका, रिब्दीकोट र रम्भा गाउँपालिकाले डेढलाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेका छन भने बगनासकाली गाउँपालिकाले अक्सिजनको व्यवस्था गर्ने जनाएको छ ।
महामारीको समयमा समेत सहि सूचना प्रवाह गर्नका लागि आफ्नै ज्यान जोखिममा राखेर फिल्डमा खट्ने पत्रकारलाई महासंघले अक्सिजन सहितको व्यवस्था गरेपछि पत्रकारको मनोवल पनि बढेको महासंघका पूर्ष अध्यक्ष गोविन्द भट्टराईले बताए ।
पहिलो चरणमा होल्डिंग आइसोलेशन निर्माण गरिएको भएपनि आवश्यकता अनुसार अक्सिजन र चिकित्सकको समेत व्यवस्थापन गर्न महासंघले तयारी गरेको छ । यस्तै क्रियाशिल पत्रकारका लागि आवश्यक मास्क सेनिटाईजर लगायतका स्वास्थ्य सामग्री समेत सहयोग गर्दै गर्दै आएको महासंघ पाल्पाले जनाएको छ ।
पाल्पामा हालसम्म ७ जना पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको महासंघले जनाएको छ ।