
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई नहुने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय गरेसंगै एसईई परीक्षा नहुने भएको हो ।
विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनका विवरण सम्बन्धित जिल्लास्थित शिक्षा विकास तथा समन्वय समितिमा पठाउने र शिक्षा विकास तथा समन्वय इकाईले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्नेछ ।
प्राप्त विवरणका आधारमा परीक्षा बोर्डले परीक्षाफल तयार पारेर सार्वजनिक गर्ने निर्णय भएको बोर्डले जनाएको छ ।
गत वर्षपनि कोरोना महामारीका कारण परीक्षा रोकिएपछि आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गरिएको थियो । यो वर्ष पनि परीक्षा गर्ने अवस्था नभएका कारण यो निर्णय गरिएको हो ।
यसअघि जेठ १३ गतेबाट एसईई परीक्षा लिने तयारी बोर्डले गरेको थियो । दोस्रो लहरमा कोरोना संक्रमण फैलिएपछि बोर्डले परीक्षा स्थगित गरेको थियो ।