रैनादेवी छहराको बजेट ६१ करोड, ५२ लाख

तानसेन ।  रैनादेवी छहरा गाउँपालिकाले आर्थिक वर्ष २०७८।०७९ का लागि ६१ करोड ५२ लाखको बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिकाको नवौं गाउँसभामा उपाध्यक्ष चेतकुमारी थापाले ६१ करोड ५२ लाख १५ हजारको बजेट सार्वजनिक गरेकी हुन् । विनियोजित रकममध्ये चालुतर्फ ३७ करोड ९४ लाख ६५ हजार र पुँजीगतर्फ २३ करोड ५७ लाख ५० हजार निर्धारण गरिएको उपाध्यक्ष सभामा जानकारी गराईन् ।

गाउँपालिकालाई विकासको पथमा अगाडि लैजानका लागि सुन्दरे ढुङ्गा, जुठापौवा, सालझण्डी मोटरबाटो तथा कटौजे पानी खेल मैदानलाई संघ र प्रदेशसँगको समपुरक योजनाको रुपमा अघि बढाएने भएको छ । उक्त योजनाका लागि संघीय समपुरक कोषमा एक करोड ६६ लाख र प्रदेश समपुरकमा एक करोड ५० लाख विनियोजन गरिएको छ ।

गाउँपालिकालाई सडक सञ्जालमा जोड्नका लागि छहरा,ताङ्सीङ्गल, सातमुरे कालोपत्रेका लागि ५० लाख विनियोजन गरिएको उपाध्यक्ष थापाले बताइन् । यस्तै बजेटमा स्थानीय तहलाई जनतासँग लैजानका लागि वडास्तरीय योजना छनौट अन्तर्गत ४ करोड १५ लाख रकम विनियोजन गरिएको छ ।

गाउँपालिकाको प्रशासकिय भवन यसै वर्ष सम्पन्न गर्नका लागि १ करोड ८० लाख रकम विनियोजन गरिएको बजेटमा उल्लेख छ । प्रत्येक वडामा प्रशासकिय भवन व्यवस्थित गर्न एक वडा एक सभाहल कार्यक्रमलाई निरन्तरता दिनका लागि  ५० लाख विनियोजन गरिएको छ ।

 

गाउँपालिकाले आगामी आर्थिक वर्षमा कोभिड–१९ र कृषिलाई बजेटमा प्राथमिकता दिएको छ । यसले कोरोना नियन्त्रण तथा व्यवस्थापनका लागिका लागि ३८ लाख विनियोजन गरेको छ । स्वास्थ्य बीमा गर्ने नीतिका लागि पालिकाले ७ लाख छुट्याएको छ ।

गाउँपालिकाले आमा स्वास्थ्य कार्यक्रम अन्तर्गत गर्भवती हरियो झण्डा कार्यक्रम, स्वास्थ्य बा–आमा कार्यक्रम अन्तर्गत घरघरमै गई जेष्ठ नागरिकको डाक्टर सहितको स्वास्थ्य परीक्षण, विपन्न नागरिकको स्वास्थ्य उपचारमा सहयोग गर्ने कार्यक्रमलाई नीति, कार्यक्रम तथा बजेटमा समावेश गरेको गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले बताए ।

अहिले अधिकांश नागरिकको मुख्य पेशा कृषि र पशुपालनलाई पनि बजेटमा प्राथमिकता दिएको छ । कृषि र पशुपालनमार्फत नागरिकको आयआर्जनमा वृद्धि गर्न १ करोड ४१ लाख रकम विनियोजन गरिएको अध्यक्ष कार्कीको भनाई छ ।

कृषकलाई प्रोत्साहन अनुदान दिने व्यवस्था पनि गाउँपालिकाले गरेको उनले बताए । आफूहरू स्थानीय तहमा निर्वाचित भएर आएपछिको यो अन्तिम बजेट भएकाले अपूरा योजना पूरा गर्ने गरी पुँजी परिचालन गरिने पनि अध्यक्ष कार्कीको भनाई छ ।

यस्तै नवौं गाउँसभाको लुम्बिनी प्रदेशका सांसद तथा नेपाली काँग्रेस पाल्पाका सभापति विरबहादुर रानाले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै सांसद रानाले स्थानीय सरकार सफल भए मात्र संघीयता सफल हुने बताएका छन् ।

स्थानीय सरकार नै जनताको घरदैलोको सरकार भएकाले यसलाई श्रोत साधनबाट बलियो बनाउनु पर्ने उनको भनाई छ । सिंहदरवारमा रहेको अधिकार स्थानीय सरकारले घर दैलोमा पुर्‍याईदिएको सांसद रानाले बताए ।

उनले जनप्रतिनिधी र कर्मचारीको मिलेमोतोमा विकास निर्माण तथा बजेटलाई राम्रोसँग कार्यान्वयन गर्न सकिने भएकाले सोही अनुसार काम गर्न कर्मचारी र जनप्रतिनधीहरुलाई आग्रह गरे ।

जनताको पहिलो प्राथमिकता बास, गास भएकाले सोही कुरालाई आधार बनाएर सबैपक्षले काम गर्नुपर्ने सांसद रानाको भनाई छ । बजेट तथा नीति कार्यक्रममा सबै पक्षलाई समेटिएको, सबैका भावना विचार र अभिव्यक्तिहरुको सम्मान हुने गरी कार्यक्रम प्रस्तुत भएको सांसद रानाले बताए ।

 

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer