निस्दीमा आजमात्रै ८६ जनामा कोरोना पुष्टि

तानसेन । पूर्वी पाल्पाको निस्दी गाउँपालिकामा शनिबार मात्रै ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

समुदायमा कोरोनाको लक्षण देखिएका दुईसय ११ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८६ जनामा संक्रमण दखिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रेम बहादुर दिश्वा मगरले जानकारी दिए ।

आज थपिएकामा ५२ जना पुरुष तथा ३४ जना महिला रहेका छन् । पछिल्लो केहीदिन यता निस्दीमा जिल्लामै धेरै मात्रामा संक्रमित थपिन थालेपछि स्थानीय त्रसित भएका छन् ।

जिल्लाकै विकट गाउँ भएका कारण स्वास्थ्यमा समस्या भएका संक्रमितलाई उपचारका लागि सदरमुकाम पुर्याउन समेत जटिल रहेको निस्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भगवानभक्त अर्यालले बताए ।

जेठको २० गते मात्रै रुक्सेभञ्याङ्गका ७० जनाबढीमा संक्रमण देखिएपछि एक सातासम्म गाउँपालिकाले टोललाई शील समेत गरिएको थियो ।

तर पुनः समुदायमा संक्रमण बढेपछि जोखिम समेत बढेको छ । वर्षाको समय भएका कारण संक्रमितको व्यवस्थापनमा समेत चुनौती थपिएको गाउँपालिकाले जनाएको छ ।

निस्दीमा हालसम्म ५४९ जनामा कोरोना संक्रमण भएकोमा एक जना संक्रमितको मृत्यु भएको स्वास्थय कार्यालय पाल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया