तानसेन। पाल्पामा आजदेखि दशौं चरणको निषेधाज्ञा सुरु भएको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले खुकुलो बनाएर साउन २१ गतेसम्मका लागि दशौं चरणमा निषेधाज्ञा थप गर्न निर्णय गरेको हो ।
यसअघि गरिएको निषेधाज्ञामा समेत संक्रमण कायमै रहेको जनाउदै स्थानीय प्रशासनले खुकुलो पारेर निषेधाज्ञा थप गरेको छ । अहिले पनि दैनिक परीक्षणको ३० प्रतिशत हाराहारीमा संक्रमण कायम रहेको भए पनि जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न अनुरोध गर्दै लकडाउनलाई केही खुकुलो बनाइएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।
हाल जिल्लामा सबैखाले सवारीमा सिट क्षमता अनुसार यात्रु राखेर संचालन गर्न दिने तथा सबै पसलहरु बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म खोल्न पाइने व्यवस्था गरिएको छ । यस्तै होटल तथा रेष्टुरेन्टलाई भने बेलुका ८ बजेसम्म संचालन गर्न दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले बताए ।
यस्तै अत्यावश्यक सेवाका सवारी तथा पसलहरु २४ सौ घण्टा खुल्ने भए पनि मठमन्दिर, जात्रा महोत्सव, शैक्षिक क्रियाकलाप, सभा, सेमिनार, गोष्ठी लगायतका कार्यक्रमहरुलाई भने पूर्ण रुपमा रोक लगाइएको छ ।
निषेधाज्ञा अवधिमा संस्कारजन्य कार्यक्रम गर्नको लागि १५ जना तथा सार्वजनिक स्थलमा २५ जना भन्दा बढी जम्मा हुन समेत निषेध गरिएको छ ।
पछिल्ला दिनहरुमा जिल्लामा पुनः संक्रमण बढ्को क्रममा रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । स्थानीय प्रशासनले लकडाउनलाई खुकुलो बनाउदै जादा नागरिक तहबाट स्वास्थ्य मापदण्डको पालना नगरका कारण पनि संक्रमण बढेको स्वास्थय कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले बताए।
साउन महिना लागेपछि सार्वजनिक सवारी संचालन सुरु भए पछि गाउँदेखि शहर आउने नागरिकको संख्या बढेको हुँदा संक्रमण फैलिने क्रम पनि बढेको पाइएको छ ।