पाल्पा । तानसेन नगरपालिकाभित्रका युवाहरुलाई कृषि र पशुपालनमा आकर्षण गर्न सहुलियत ब्याजदरमा कर्जा पाउने भएका छन् । तानसेन नगरपालिका, हेफर परियोजना, ग्रामीण आर्थिक विकास संघ रेडाको साझेदारीमा, ग्लोबल आइएमइ बैंकले सहुलियत ब्याजदरको कर्जा प्रवाह गर्ने भएको हो ।

तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाही, उपप्रमुख लक्ष्मी पाठक, प्रमुख प्रशासकीय अधिृकत पिताम्बर पाण्डेय, ग्लोबल आइएमइका सह प्रदेश प्रमुख जोगलाल भुषाल, हेफरका कार्यक्रम व्यवस्थापक अन्नत सिलबाल रेडाका कार्यकारी निर्देशक लिलाबहादुर कार्कीले सम्झौता पत्रमा हस्ताक्षर पछि सहुलियत ब्याजदरमा ऋण प्रवाह गर्ने कार्यको थालनी भएको हो ।

तानसेन नगर प्रमुख शाहीले अधिकाँश युवाहरु कृषि पेशाबाट विस्थापित भइरहेकाले उनीहरुको सोच, आकांक्षा र योजनाहरुलाई सम्वोधन हुने गरी कृषि तथा पशुपालनका क्षेत्रमा सहुलियत ब्याजदरमा कर्जा प्रवाह गर्ने प्रक्रियाको थालनी भएको बताए । युवाहरु कृषि पेशामा उद्यमशिलत बनेको अवस्थामा आर्थिक गतिविधि चलायमान हुने भएकोले कृषिमा युवा पुस्ताको आकर्षण हुनुपर्ने नगर प्रमुख शाहीले बताए ।
ग्लोबल आइएमइ बैंकले कृषि तथा पशुपालन क्षेत्रमा काम गर्ने बेरोजगार युवाहरुलाई वडा, समुह, तानसेन नगरपालिकाको सिफारिसमा १० लाखसम्म सहुलियत ब्याजदरमा कर्जा प्रवाह गर्ने रेडाका कार्यकारी निर्देशक लिला बहादुर कार्कीले बताए । उहाँले कृषि तथा पशुपालन क्षेत्रमा महिलाले कर्जा माग हुन गएको अबस्थामा २.६ प्रतिशत र अन्यले ३.६ प्रतिशत व्याजदरमा कर्जा प्रवाह हुने बताए ।

आइएमइ बंैकका सह प्रदेश प्रमुख जोगलाल भुषालले स्थानीय तहको सहकार्यमा कृषि तथा पशुपालनका क्षेत्र लगानी गरी युबा जनशक्तिलाई स्वदेशमा उत्पादनमुखी काम गरी स्वरोजगारको वातावरण सिर्जना गर्नु सकारात्मक पक्ष भएको बताए ।
हेफर परियोजनाका कार्यक्रम व्यवस्थापक अन्नत सिलवालले कृषि तथा पशुपालनका क्षेत्रमा लगानीले थप व्यावसायिक बनाउन सहयोग पुग्ने बताए ।

कोरोना कारण रोजगारी गुमाएका परिबारका सदस्यहरुलाई सहुलित ब्याजदरमा ऋण पाउने भएपछि कृषि र पशुपालनमा युवाहरुको आकर्षण बढ्छ । अहिले तानसेन कोभिडका कारण विदेश तथा स्वदेशमा समेत रोजगारी गुमाएर ठुलो मात्रामा युवाहरु घर फर्केका छन् । तानसेन नगरपालिकाले सहुलित ब्यादरमा ऋण पाउने भएपछि युवाहरु उत्साहित भएको तानसेन नगरपालिका उपप्रमुख पाठकले बताइन ।

तपाईको प्रतिक्रिया