काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।
बोर्डको शनिबार बसेको बैठकले आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म संचालन हुने तयारीमा रहेको कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले दिएको जानकारी अनुसार कोरोना संक्रमितको संख्या बढ्दै गएका कारण परीक्षा सञ्चालन गर्न कठिनाइ उत्पन्न भएकोले परीक्षा स्थगित गरिएको हो ।
हाल संक्रमण बढेको र कोरोनाको तेस्रो लहरको समेत सम्भावना रहेको हुँदा हालका लागि परीक्षा स्थगन गरेर परीक्षा हुन पन्ध्र दिन अघि सूचना जारी गरेर जानकारी दिने निर्णय भएको छ बोर्डले जनाएको छ ।
यसअघि कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना संक्रमण बढ्दै गएको कारण तत्काल परीक्षा गर्न नसक्ने भन्दै बोर्डलाई नयाँ मिति तय गर्न पत्राचार समेत गरेको थियो ।
यस्तै केही दिनअघि स्वाथ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना संक्रमण बढ्दै गए भौतिक रुपमा परीक्षा नगरी आन्तरिक मूल्याङकनबाट गर्न सकिने बताएका थिए ।
तर राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको तयारी अन्तिम चरणमा पुगेको र परीक्षा हुने बताउँदै आएको थियो ।
परीक्षा आउन एक हप्ता बाँकी हुँदा स्वास्थ्य मन्त्रालयको सिफारिसमा सीसीएमसीले परीक्षाको नयाँ मिति तय गर्न अनुरोध गरेपछि बोर्डले पनि त्यही अनुसार तत्काललाई स्थगित गरेको छ ।