
पाल्पा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को अध्यक्षमा महेशमान बज्राचार्य निर्विरोध निर्वाचित भएका छन् । जसको उपाध्यक्षमा डाँसुराम पन्त, सचिव अशेष भट्टराई, कोषाध्यक्ष पूर्ण बहादुर थापा निर्वाचित भए ।
सदस्यहरु ताजेन्द्र कुमार थापा, क्या.देवबहादुर थापा मश्राङगी, ऋषिराम अर्याल, जीवन रायमाझी, अनुराधा बज्राचार्य, रवि पाण्डेय, प्रकाश भट्टराई चुनिएका छन् ।
यसअघि कार्यक्रममो उद्घाटन गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का केन्द्रीय अध्यक्ष टीकाराम पुरीले स्थानीय तहसंँग समन्वय गरेर काम गर्न सुझाव दिएका छन् । उनले स्थानीय तहसंग धेरै अधिकार रहेको र निजी विद्यालयलाई समेटेर अघि बढ्न स्थानीय तहलाई आग्रह गरे ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याव्सन) पाल्पाको आठौ अधिवेशन उद्घाटनका क्रममा उनले भने, ‘हामीले सरकारसँग समन्वय गरेर अघि बढेका छौ, जिल्लास्तरमा स्थानीय तहसँग समन्वय गरेर काम गर्नुपर्छ ।’
प्याब्सनका सह–अध्यक्ष डिके ढुंगानाले निजी विद्यालय संचालक र सरकार कसको कमजोरी भयो भन्ने कुरा महत्वपूर्ण हुने बताए । प्याव्सन केन्द्रको पहिलो प्राथमिकता निजी विद्यालयमैत्री शिक्षा निर्माणमा पहल भइरहेको उनले बताए ।
उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनले निजी विद्यालयलाई नियन्त्रण गर्न खोजिएको भन्दै संघीय शिक्षा ऐन बन्दै गरेको अवस्थामा समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने उनले बताए ।
केन्द्रीय अधिवेशनको मुखमा प्याब्सनका पदाधिकारीको उपस्थिति रहेको थियो भने प्याब्सनलाई भरपर्दो, रहरलाग्दो सङ्गठनको रूपमा विकास गर्ने उनीहरुले बताएका थिए । शिक्षालाई प्रविधि र सीप सँग जोड्न प्रत्येक विद्यालयमा प्रविधिको प्रयोग गर्ने र सोही अनुरूपको पाठ्यक्रम निर्माणमा जोड दिने केन्द्रीय सह–अध्यक्ष ढुंगानाको जोड थियो ।
तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीले निजी विद्यालयसंँग समन्व गरेर नै अघि बढेको बताए । विद्यालय शिक्षालाई गुणस्तरीय बनाउन सबैको भूमिका उत्तिकै हुने उनले बताए ।
कार्यक्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का केन्द्रीय सह–कोषाध्यक्ष मीनप्रसाद बन्जाडे, लुम्बिनी प्रदेश सल्लाहकार खेम सारु, जिल्लाका संस्थापक अध्यक्ष तथा प्रमुख सल्लाहकार भेषराज सुवेदी, नेपाल पत्रकार महासंघका जिल्ला उपाध्यक्ष भरत शर्मा लगायतले प्याब्सनले शिक्षाको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका थिए ।
कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का जिल्ला अध्यक्ष भरत प्रसाद न्यौपानेको अध्यक्षतामा चलेको हो । कार्यक्रममा सांगठनिक प्रतिवेदन सचिव डासुराम पन्तले प्रस्तुत गरेका थिए भने स्वागत महेश बज्राचार्य र संचालन सह–सचिव अषेश भट्टराईले गरेका थिए ।