
पाल्पा। दलित महिलाको राजनैतिक नेतृत्वको सुनिश्चितताको लागि स्थानीय दलका नेतृत्वमा सहभागीता बढाउनुपर्ने देखिएको छ ।
दलित महिला केन्द्र, तानसेन नगरपालिका र द एसिया फाउन्डेसन अस्ट्रलियन एडको सहयोगमा सञ्चालित दलित महिलाको राजनैतिक नेतृत्वको सुनिश्चितताको लागि स्थानीय दलका नेतृत्वसँगको अन्तरक्रियमा सहभागीले सक्रियता बढेसँगै दलित महिलाको स्थानीय नेतृत्वमा सहभागीता बढ्ने बताएका हुन् ।
सो कार्यक्रममा तानसेन नगरपालिका उप प्रमुख लक्ष्मीदेवी पाठकले दलित तथा सीमान्तकृत समुदायको सामाजिक, आर्थिक अवस्थामा सुधार देखिएकोले अब राजनैतिक क्षेत्रमा उनीहरुको पहुँच विस्तार हुने बताइन् ।
दलित महिलाहरुलाई वडा सदस्य तथा महिलालाई उप प्रमुखबाट माथिल्लो पदमा काम गर्न सक्ने हौसियतको विकास भएकोले सोही अनुसारको नेतृत्व आवश्यक रहेको उनको भनाई छ ।
कार्यक्रममा नेपाली काँग्रेसका नगर उपसभापति सागर महर्जनले दलित वर्गका लागि माया होइन, अधिकार मार्फत स्थापित गर्न आवश्यक रहेको बताए । उनले दलित महिलाको राजनैतिक क्षेत्रमा सहभागीता वृद्धिका लागि आफुले आवश्यक सहयोग गर्ने पनि जानकारी दिए ।
कार्यक्रममा नेकपा एमाले तानसेन नगर अध्यक्ष गुराँस आत्रेयले क्रियाशिलताका आधारमा दलितलाई पार्टीमा अधिकार प्रदान गर्ने बताउनुभयो । उनले पार्टीका संरचनामा दलित समुदायको उल्लेखिय भूमिका रहेको र इमान्दारिता देखाएको बताए ।
कार्यक्रममा नेकपा माओवादी नगर अध्यक्ष प्रतिष्ठा सिंजालीले पार्टीमा दलित महिलाहरुलाई पार्टीमा सहभागीता वृद्धिका लागि समावेशी नीति अपनाएको बताइन् । कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष रामकृष्ण कार्कीले महिलालाई अवसर प्रदान गरी मुलप्रवाहमा ल्याउन आवश्यक रहेको बताए ।
कार्यक्रममा दलित महिला अन्तरपार्टी लुम्विनी प्रदेश सदस्य तारा रसाली, दलित अधिकारकर्मी तीर्थ प्रसाद गौतम, पित बहादुर नेपाली, मन्जु विश्वकर्मा, तानसेन नपाको प्रेस सल्लाहकार गोविन्द भट्टराई लगायतले दलित महिलालाई सक्षमताका आधारमा आगामी निर्वाचनमा नेतृत्व तहमा दलले जिम्मेवारी प्रदान गर्नुपर्ने बताए ।
कार्यक्रममा दलित महिला वडासदस्यहरु दुर्गा नेपाली, बृद्धिसरा सुनार, विमला बौडेल लगायतले चार वर्षे अनुभव चुनौतीका आधारमा अवसर पाएमा वडादेखि पालिकासम्मको नेतृत्व गर्ने सक्षम भएको बताएका थिए ।