तानसेन। पाल्पाको निस्दी गाउँपालिका ७ को चारघरे र ज्यामिरेमा पहिलो पटक विद्युत पुगेको छ ।

सामुदायिक विद्युतीकरणका लागि रकम बुझाएको लामो समय पश्चात् अहिले गाउँमा विद्युत पुगेपछि स्थानीय खुसी भएका छन् । करिब ८० घर परिवारमा बिजुली बत्तीको सुविधा पुगेको र बाँकी स्थानमा पनि छिट्टै नै विस्तार गरिने गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले जानकारी दिए ।

साविक ज्यामिरे गाउँ विकास समिति १ को चारघरे, ज्यामिरे क्षेत्र अहिले विद्युत सुविधा उपभोग गर्ने पहिलो गाउँ बनेको छ ।
बिजुली बत्ती उपभोग गर्न पाएपछि लेखपढ गर्न, खाना पकाउन, रेडियो सुन्न र टिभी हेर्न सजिलो भएको स्थानीयले बताएका छन् ।

लामो समयदेखि विद्युत सेवाको पर्खाइमा रहेका स्थानीयले टुकीको भरमा जीवन बिताउदै आएका थिए ।

जिल्लाकै विकट मानिने यो पालिकाको अन्य गाउँहरुमा पनि हालसम्म विद्युत सुविधा पुगेको छैन । स्थानीय तहले संघीय सरकारसंग विद्युतीकरणका लागि पहल गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया