
तानसेन । पाल्पामा पछिल्लो २४ घण्टामा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार थप १६ जना पुरुष तथा ३१ जना महिला गरी थप ४७ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा सबैभन्दा धेरै तानसेनका २१ जना माथागढी र ररिब्दीकोट गाउँपालिकाका २।२ जना, पूर्वखोला र निस्दीका १।१ जना, रैनादेवी छहरा र रम्भा गाउँपालिकाका ३।३ जना तथा बगनासकाली गाउँपालिका भित्रका १४ जना रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
पछिल्लो २४ घण्टामा पीसिआर र एन्टिजेन विधिबाट १४२ जनाको परीक्षण गरिएको थियो । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ३ सय ९६ रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी कृष्ण पोखरेलले बताए ।
संक्रमितमध्ये ७ जना अस्पतालमा छन् भने बाकी घरमै बस्दै आएका छन् । सोही समयावधिमा थप १५ जना संक्रमित भने संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।