पाल्पा दरबार संग्रहालय विकास समिति गठन गर्ने प्रदेश सरकारको निर्णय

बुटवल। लुम्बिनी प्रदेश सरकारले प्रदेश स्तरीय पाल्पा दरबार संग्रहालय संचालनका लागि विकास समिति गठन गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । कानून महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको प्रस्तावमा पाल्पा दरबार संग्रहालय संचालनका लागि विकास समिति गठन आदेश, २०७८ स्वीकृति गर्ने निर्णय भएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत सो निर्णय सार्वजनिक गरिएको हो ।

ऐतिहासिक महत्व बोकेको पाल्पा दरबार संग्रहालयको जंगबहादुर राणाका भाई बद्रीनरसिंहले वि.सं. १९१० देखि १९३० को अवधिमा पहिलो पटक निर्माण गरेका थिए ।

त्यसपछि प्रयोगमा नआउँदा जीर्ण भई भत्कने अवस्थामा पुगेको दरबारको तत्कालीन जनरल प्रतापशमशेरले आफू पाल्पामा तैनाथवाला भएर आएपछि पहिलेको भवन भत्काएर १९८१ मा दरबार पुनः निर्माण गरेका थिए ।

पछि २०६२ सालमा तत्कालीन विद्रोही माहेबादीले आक्रमण गरेपछि दरबार पूर्ण रुपमा जलेर नष्ठ भएको थियो । त्यसपछि साढे ६ करोड रुपैयाँ खर्च गरेर दरबारको ७० सालमा पुरानै स्वरुपमा पुनः निर्माण गरिएको थियो ।

पहिले प्रशासनिक कार्यालयका रुपमा रहेको यो दरबार संघीयता आएपछि प्रादेशिक संग्रहालय बनाईएको हो । चार तलामा ६३ वटा कोठा, दुईवटा बुर्जा र दुईवटा बैठक हल रहेको यो दरबारलाई संग्रहालय बनाइएको हो ।

तपाईको प्रतिक्रिया