त्रिभुवन बहुमुखी क्याम्पसमा तालाबन्दी

तानसेन। पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा तालाबन्दी भएको छ। समान कामको समान ज्याला नपाएको भन्दै क्याम्पसमा पढाउने आंशिक प्राध्यापकहरु आन्दोलनमा उत्रिएर तालाबन्दी गरेका हुन् ।

नेपाल आंशिक प्राध्यापक संघ केन्द्रीय संघर्ष समितिको आह्वानमा त्रिवि तथा देशभरका आंगिक क्याम्पसमा कार्यरत आंशिक प्राध्यापकहरु आन्दोलित भएका हुन् ।

केन्द्रीय संघर्ष समितिको निर्णय बमोजिम त्रिभुवन बहुमुखी क्याम्पस इकाई समिति पाल्पामा आवद्ध प्राध्यापकहरु पनि आन्दोलित भएका छन् । उनीहरुले क्याम्पसको विभिन्न शाखाहरुमा तालाबन्दी गर्नुको साथै क्याम्पस प्रमुखमार्फत सरोकारवालाको ध्यानाकर्षण समेत गराएको जनाएका छन् ।

वर्षमा २ सय ४० दिन काम गर्दा पनि ज्यालादारीमै राखेर आफूहरुलाई विभेद गरिएको गुनासो उनीहरुको छ । संघका ईकाई समितिका अध्यक्ष कृष्ण आलले क्याम्पसको कक्षा भार थाम्ने प्राध्यापकहरुलाई नै विभेद गरिनु दुःखद भएको भन्दै आँशिकका नाममा त्रिविमा विभेद रहेको बताए ।

हेर्नुहाेस् विज्ञप्तिः

पटक पटक भएका आन्दोलनपछि गरिएको सम्झौता त्रिविले कार्यान्वयन नगरेको आरोप आंशिक प्राध्यापकहरुले लगाएका छन् ।

तालाबन्दीसहितको आन्दोलन कायम रहँदासम्म आंशिक प्राध्यापकहरुले सम्पूर्ण शैक्षिक गतिविधि समेत बहिष्कार गर्ने बताएका छन् । केन्द्रको निर्देशन अनुसार क्याम्पसको क्याम्पस प्रमुख, प्रशासन र लेखा शाखामा अनिश्चितकालिन तालाबन्दी गरेका हुन् ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत देशभर दुई हजार दुई सय आंशिक प्राध्यापक कार्यरत छन् । विश्व विद्यालय जस्तो प्राज्ञिक, वौद्धिक थलोमा आफूहरु माथि १७ वर्षदेखि अन्याय, विभेद, बौद्धिक श्रम शोषण भइरहेको गुनासो आंशिक प्राध्यापकहरुको छ ।

 

चार हजार पाँच सय सेवा निवृत्त प्राध्यापकहरुको कक्षा भारसहित त्रिभुवन विश्व विद्यालयको लगभग ६५ प्रतिशत कक्षाभार आंशिक प्राध्यापकले धाने पनि दैनिक ज्यालादारीबाट मासिक ज्यालादारीमा लान माग गर्दा अटेर गरेको उनीहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया