तानसेन। आज बिहान साढे १० बजेतिर स्याङ्जाको वालिङगमा भएको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

डाँडाखर्क गाउँबाट वालिङतर्फ आँउदै गरेको ग १ ज ७३९९ नम्बरको जीप डाँडाखर्कस्थित भित्री सडक खण्डमा दुर्घटना हुँदा एक बालकसहित पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा वालिङ नगरपालिका वडा नं.१२ डाँडाखर्कका ६५ वर्षीय वीरबहादुर दाला मगर, सोही स्थानका ४५ वर्षीया हीरा दाला मगर, २५ वर्षीया शर्मिला सारु र ६१ वर्षीया कुलकुमारी कनौजेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता पदमराज थापाले जानकारी दिए ।

दुर्घटनामा शर्मिला सारुका छोरा अन्दाजी ७ महिनाका बालकको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा चालकसहित ६ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा जीप चालक ६० वर्षका दलबहादुर थापा, वालिङ नगरपालिका १२ का अंगबबहादुर दाला मगर, मायाकुमारी सारु, योगेन्द्र थापा, नविना सारु र लक्ष्मी दाला रहेका छन् ।

घाइतेहरु केहीलाई थप उपचारका लागि पोखरा पठाएका र केहीको वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ। जीप सडकबाट २०० मिटर तल खसेर दुर्घटना भएको थियो।

तपाईको प्रतिक्रिया