तानसेन। पाल्पाबाट यस वर्षको एसइइ परीक्षामा चार हजार ८४१ जना परीक्षार्थी सहभागी हुने भएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाले दिएको जानकारी अनुसार नियमित तर्फ चार हजार ७८३ तथा ग्रेड वृद्धि तर्फ ५८ जना परीक्षार्थी सहभागि हुने भएका हुन् ।
जिल्लाका दश स्थानीय तहमा गरी २६ परीक्षा केन्द्रबाट संचालन हुने परीक्षामा दुई हजार ४५० छात्रा तथा दुई हजार ३९१ छात्रले एसइइ अर्थात माध्यमिक शिक्षा परीक्षामा सहभागि हुने शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाका प्रमुख महेन्द्र सुवेदीले जानकारी दिए ।
यस्तै यो वर्ष पाल्पाबाट कुनैपनि फरक क्षमत भएका परीक्षार्थी परीक्षामा सहभागी नहुने पनि प्रमुख सुवेदीले बताए ।
प्रमुख सुवेदीका अनुसार जिल्लाका दशै स्थानीय तहमा गरी २६ जना केन्द्राध्यक्ष, ३२ जना सहायक केन्द्राध्यक्षय, दुई सय ४२ जना निरीक्षक,४९ जना सहायक कर्मचारी, ९८ जना विद्यालय सहयोगी कर्मचारी तथा तीनसय ९० जना सुरक्षाकर्मी परीक्षामा खटिने छन् ।
यस्तै विभिन्न सरोकारवाला निकायबाट परीक्षाको अनुगमन गरिने व्यवस्था समेत गरिएको छ ।
यसैबीच दुईवर्षदेखि भौतिक उपस्थितीमा हुन नसकेको एसइइ परीक्षालाई व्यवस्थित बनाउन जिल्ला परीक्षा समन्वय समितिले ३५ बुँदे निर्देशिका समेत जारी गरेको छ ।