
पाल्पा । पाल्पाका १० मध्ये ९ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक हुँदा एक स्थानीय तहको मतगणना भने स्थगित छ । शनिबारदेखि स्थगित रम्भा गाउँपालिकाको मतगणना बुधबार दिउँसोसम्म पनि सुरु हुन नसकेको हो ।
रम्भा –५ ताहुँको गतगणनाको क्रममा ७४ फर्जी मत भेटिएपछि गणना कार्य स्थगित भएको थियो । सत्तारुढ गठबन्धनका विभिन्न दलहरुले विज्ञप्ती जारी गर्दै सार्वजनिक नतिजाप्रति असहमति जनाउँदै पुनः मतदानको माग गरेका छन् । मतगणनास्थलमा गठबन्धनका कार्यकर्ता र प्रहरीबीच झडप समेत भएको थियो । स्थगित गतगणना सुचारु गर्न प्रयास गरिएपछि सफल नभएको रम्भा गाउँपालिकाका निर्वाचन अधिकृत कृष्ण प्रसाद भण्डारीले नयाँधार अनलाइनलाई जानकारी दिए ।
सम्बन्धित समाचार : पाल्पाको रम्भा गाउँपालिका स् फर्जी मत भेटिएको भन्दै पुनः मतदानको माग [प्रेस विज्ञप्तीसहित]
रम्भामा झडप : प्रहरीद्धारा ८ सेल अश्रुग्यास प्रहार, ३ प्रहरीसहित ५ जना घाईते [भिडियोसहित]
निर्वाचन अधिकृत भण्डारीका अनुसार जिल्लास्तरीय, पालिकास्तरीय निर्वाचन संयन्त्रसंगको छलफलमा पुनः मतगणना सहमति भएपनि गठबन्धन दलका प्रतिनिधीले पुनः मतदानको माग राख्दा निष्कर्ष जुटन नसकेको हो ।
निर्वाचन आयोगले पनि पुनः गणना गर्न भनेको भण्डारीले बताए । गतगणना सुरु गर्ने विषयमा दलहरुसँग छलफल भईरहेको समेत उनले जानकारी दिए ।
‘गठबन्धन दलका प्रतिनिधीहरुले पालिका स्तरीय कर्मचारीबाट भएको गणना मान्य हुने छैन भनेको हुँदा बाहिरका कर्मचारी राख्ने तयारी भएको छ’ रम्भाका निर्वाचन अधिकृत भण्डारीले नयाँधारसँग भने, ‘तर गठबन्धन दलका प्रतिनिधीबाट भने पुनः मतदानकै माग छ । हामीले त आयोगले जे भन्छ त्यही गर्ने हो । अब आयोगले जे निर्णय गर्छ त्यसैको प्रतिक्षामा छौं ।’