‘घरदैलोमा पुगेर गरेका प्रतिबद्धता पूरा गर्न योजना बनाएर काम गर्छौं’

तानसेन । रिब्दीकोट गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष नारायणबहादुर कार्कीले पालिकाको विकासका लागि योजना बनाएर काम गर्ने बताएका छन् ।

रिब्दीकोटलाई समृद्ध बनाउन कृषि, युवा स्वरोजगार र पर्यटन प्रर्बद्धनमा काम गर्ने अध्यक्ष कार्कीले बताए । निर्वाचनका बेला जनताको घरदैलोमा पुगेर गरेका प्रतिबद्धता पूरा गर्न योजना बनाएर काम गर्ने उनले बताएका हुन् ।

जनताले दिएको अभिमतको कदर गर्दै जनताकै पक्षमा काम गर्ने उनको भनाई छ । ‘निर्वाचनका बेला घरदैलोमा जाँदा धेरै प्रतिबद्धता गरेका छौं । ती प्रतिबद्धता क्रमशः पुरा गर्दै जानेछौं । जसका लागि निश्चित योजना बनाएर काम गर्नेछौं’ नयाँधारसँगको कुराकानीमा कार्कीले भने, – ‘रिब्दीकोटको विकासका लागि सबैभन्दा धेरै सम्भावना भएको कृषि क्षेत्र भएका कारण कृषिमा आमूल परिवर्तन हुने गरी काम गर्ने छौं ।’

यस्तै, युवा स्वरोजगार र पर्यटन क्षेत्रको विकासमा पनि आफूहरुले प्राथमिकता दिएर काम गर्ने उनले बताएका हुन् । समृद्ध रिब्दीकोट र सुःखी जनता बनाउन पाँच वर्षका लागि विशेष योजना बनाएर अघि बढ्ने अध्यक्ष कार्कीको भनाई छ । खासगरी धार्मिक र पर्यटकीय दृष्टीकोणबाट पनि रिब्दीकोट सम्पन्न रहेको हुँदा यसको विकास र जनताको जीवनस्तर सुधार गर्न काम गर्ने अध्यक्ष कार्कीले नयाँधारसंग बताए ।

धेरै सम्भावना बोकेका विभिन्न स्थलको प्रचार गरी नागरिकलाई आय आर्जनमा लगाउन काम गर्ने अध्यक्ष कार्कीको भनाई छ । यस्तै, उत्पादित बस्तुको बजारीकरणका विषयमा समेत स्थानीय सरकाले काम गर्ने उनले बताएका छन् ।

कतिपय अवस्थामा उत्पादन भएका वस्तुको बजारीकरण नहुँदा र विचौलीयाको समस्याले कृषक र उपभोक्ता ठगिने अवस्था रहेको हुँदा त्यस विषयमा पनि गाउँ सरकार गम्भीर भएर विशेष पहल गर्ने अध्यक्ष कार्कीले बताए ।

तपाईको प्रतिक्रिया