
पाल्पा। तानसेन नगरपालिका–२, नारायणस्थानस्थित देववाणी संस्कृत तथा साधारण माध्यमिक विद्यालयमा विद्यार्थीको आकर्षण छ । यो सरकारी सहयोगमा सञ्चालित विद्यालयमा विद्यार्थीको चहलपहल बाक्लो छ । तीन ओटा भवन र साँगुरो खेल मैदान छ ।
अमरनारायण मन्दिर परिसरमा सञ्चालित यो विद्यालयकोे क्षेत्रफल भने निकै साँगुरो छ । तर, शैक्षिक गुणस्तरले यो विद्यालय जिल्लाकै अब्बल पहिचान बोकेको छ । जिल्लामा नमुना बनेपछि सबैको नजर यो विद्यायल परेको छ, त्यसैले विद्यार्थीको रोजाइमा परेको हो ।
कसरी हुन्छ शिक्षण सिकाई ?
बालबालिकाहरुलाई शिक्षण सिकाइ प्रक्रिया अन्तरक्रियात्मक विधिको प्रयोग हुन्छ । विद्यार्थी नबुझेका कुराहरु छलफलका माध्यमबाट हल हुन्छ । त्यसैले विद्यार्थीहरुको सिकाई उपलब्धि राम्रो भएपछि नतिजा राम्रो आउने थालेको हो । यो विद्यालयमा आफना बालबालिकाहरु अध्ययन गराउन रुचाउनेहरु बढीरहेका छन् ।
विद्यालयका प्रधानाध्यापक कृष्ण थापा के भन्छन् ?
पहिला संस्कृति भाषामा पठनपाठन हुने यस विद्यालयमा पछिल्ला बर्ष अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन हुन थालेपछि विद्यार्थीको चाप बढेको विद्यालयका प्रधानाध्यापक कृष्ण थापाले बताए । विद्यार्थी अत्याधिक चाप बढ्न थालेपछि विद्यालयले प्रवेश परीक्षा गरी भर्ना अभियान थालेको हो ।
सामुदायिक विद्यालयका विद्यार्थी मात्र होइन, नीजि स्कुल छाडेर यस विद्यालयमा अध्ययन गर्नेहरुको तछाडमछाड गर्ने कमी छैनन् । कक्षा कोठा साँगुरा, विद्यार्थीहरुलाई कक्षामा राख्ने समस्या देखिएको प्रधानाध्यापक थापाले बताए ।
कक्षाकोठामा प्रोजेक्टर प्रयोग गरी शिक्षण गराइने हुँदा विद्यार्थीलाई बुझाउन सहज भएको छ । कक्षा ९ र १० मा कम्प्युटर शिक्षा, राम्रो अक्षर लेखनजस्ता प्रयास हुँदै आएको छ ।
विद्यार्थी किन आकर्षित ?
प्रत्येक शुक्रबार अतिरिक्त कार्यक्रम सञ्चालनले पनि विद्यार्थी यस विद्यालयप्रति थप आकर्षित बनेका छन् । यस विद्यालय तथा कक्षा कोठामा अन्तरक्रियात्मक रुपमा शिक्षण गर्ने चलन रहेको विद्यार्थी ममता भट्टराईले बताए ।
शिक्षक विद्यार्थीको सम्वन्ध राम्रो हुँदा जति बेला पनि विद्यार्थीले प्रश्न गर्न सक्ने वातावरण रहेको छ । किताब सैद्धान्तिक ज्ञान भन्दा पनि व्यवहारिक शिक्षामा जोड दिइएको विद्यार्थी अंशुबर्मा अर्यालले बताए ।
शिक्षण सिकाई विधिकै कारण विद्यार्थीहरु विद्यालयमा आकर्षित भएका छन् । शिक्षण सिकाई विधिलाई कक्षामा प्रयोग गर्दा विद्यार्थी केन्द्रीत गरिएको छ । परियोजना कार्यका लागि विद्यार्थीहरुलाई विभिन्न स्थान लगिएको छ ।
प्रयोगत्मक शिक्षणमा शिक्षक अबल
त्यसबाट विद्यार्थीले नयाँ नयाँ खोज अनुसन्धान गरी ज्ञान प्राप्ति हुन्छ । सोही ज्ञानलाई विद्यार्थीले लेखनका माध्यमबाट अभिव्यक्त गर्दै आएका शिक्षक शेषनारायण चालिसेले बताए ।
बालबालिका र शिक्षकशिक्षिकाको सम्वन्ध सुमधुर रहेको छ । भयररहित वातावरणमा शिक्षण हुन्छ । खेल, कथाका माध्यमबाट समेत पठनपाठन गर्दा बालबालिकाहरु सक्रियताका साथ अध्ययन गर्ने शिक्षिका गंगा कुमारी लामिछाने बताए ।
शिक्षकहरु अति नै अनुशासित
विद्यालयका शिक्षकहरु अति नै अनुशासित छन् । विद्यार्थीका कमीकमजोरी औल्याएर अभिभाकलाई फोन गर्नुहुन्छ । विद्यार्थीका कमजोरी सच्याउन शिक्षकले अभिभाकलाई सम्भाउने गर्ने अभिभावक तथा तानसेनका स्थानीय गणेश न्यौपानेले बताए ।
वि.सं. २००९ सालमा संकृस्त पठनपाठनका लागि यो विद्यालय स्थापना गरिएको थियो । विद्यालय शिक्षाप्रति आकर्षित गर्न यो विद्यालय सञ्चालनमा ल्याएको थियो । संस्कृतका अध्ययनका लागि खोलिएको विद्यालयमा बाह्मण जातिमा विद्यार्थीहरुको चहलपहल बढ्यो ।
सोही जातिमा छात्राहरुको उत्साहजनक उपस्थिति हुन सकेको थिएन । नेपाल अधिराज्यको संविधान २०४७ सालतिर यो विद्यालयमा विद्यार्थीहरुको चाप बढ्यो तर, लोकतन्त्र स्थापना पछि देववाणी विद्यालयमा विद्यार्थी संख्या ओरालो लाग्यो ।
पहिला न्यून विद्यार्थी
वि.सं. २०६८ सालमा कक्षा १० सम्म जम्माजम्मी ४२ जना विद्यार्थीमा सिमित हुन परयो । अन्नत विद्यालय अन्य विद्यालयसँग गाभ्ने चर्चा चल्यो । जति बेला कक्षा दशमा एक जना मात्र विद्यार्थी अध्ययन गरिरहेका थिए । उनी पनि एसएलसी परीक्षामा सहभागी भएपनि उत्तीर्ण हुन नसकेपछि विद्यालय गाभ्न तयारी सुरु भएको थियो ।
वि.सं. २०६९ सालमा रिब्दीकोट गाउँपालिका मैनादीस्थित प्रभात माविका शिक्षक कृष्ण थापा र माथागढी गाउँपालिका झडेवास्थित किसान माविका शेषनारायण चालिसे यो विद्यालयमा सरुवा भई आउनुभयो । सोही समयमा विद्यालय गाभ्ने प्रस्तावित गरिएको थियो ।
नयाँ शिक्षकको आगमन पछि विद्यार्थी भर्नाका लागि घरदैलो कार्यत्रम सञ्चालन गरिएको थियो ।शिक्षकशिक्षिकाहरुले आफना बालबालिकाहरुलाई अनिवार्य रुपमा विद्यालयमा अध्ययन गर्नुपर्ने व्यवस्था गरेपछि विद्यार्थीको केही मात्रा बढ्न थालेको हो । विहान साँझ अतिरिक्त कक्षा सञ्चालन गरेपछि विद्यार्थी नतिजा समेत राम्रो आएको हो ।
गुणस्तरीय शिक्षा
वि.सं. २०७५ सालको एसइइमा यो विद्यालयबाट प्रथम स्थान हासिल गर्न सफलता भएको थियो । त्यसपछि विद्यालयमा विद्यार्थीको अभाव हुन छाड्यो, हाम्रो विद्यालयको गुणस्तरीय शिक्षा, सिकाई उपलब्धिको राम्रो प्रचार भयो, त्यसैले यो विद्यालय जिल्लामा नै अब्बल बनेको विद्यालयका प्रधानाध्यापक थापाले बताए ।
पहिला पहिला गरीब तथा विपन्न समुदायका बालबालिकाहरुले अध्ययन गर्ने भनेर प्रचार गरिएको थियो । शैक्षिक गुणस्तर राम्रो प्रदान गर्न थालेसँगै, शिक्षित वर्गका सरकारी कर्मचारीका छोराछोरी तथा नीजी स्कुल छाडेर यो विद्यालयमा अध्ययन गर्नेहरुको चाप बढेको हो । न्यून विद्यार्थी र गुणस्तरीय शिक्षाको अभावमा जिल्ला शिक्षा कार्यालय पाल्पाले विद्यालयलाई गाभ्न खोजेको विद्यालय पछिल्ला वर्षहरुमा नमुना बनेको विद्यालय व्यवस्थापन समितिको दावी छ ।