लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री प्रहरी नियन्त्रणमा

बुटवल। लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला खत्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । वलीले मंगलबार बिहान एक महिला र उनकी छोरीलाई कुटपिट गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो।

दाङको तुलसीपुर उपमहानगरपालिका ५ आलुमण्डीको पछाडी बस्ने मीना भण्डारी बस्नेतको घरभित्रै गएर मन्त्री वलीले मीना र उनकी छोरीलाई कुटपिट गरेको प्रहरीले जनाएको छ ।

मन्त्री वलीले मीनाको घरभित्रै गएर कपडासमेत फालिदिएपछि घटनास्थलमा प्रहरी परिचालन गरिएको र सोही आधारमा उनलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

पीडित मीनाका अनुसार बिमला आज बिहान करिब ८ बजेतिर एक्कासी घरमा आइपुगेकी थिइन्। उनले ढोका हानेर भित्र पसी मीनासंगै उनकी तीन वर्षीया छोरीलाई समेत कुटपिट गरेकी थिइन् ।

उनी दाङको क्षेत्र नम्बर ३ (ख) बाट प्रदेश सभा सदस्य निर्वाचित भएकी थिइन्। ०७४ मा यो क्षेत्रबाट नेकपा एमालेका उत्तरकुमार वली निर्वाचित भएका थिए। उनको निधनपछि उपनिर्वाचन गर्दा उनकी पत्नी बिमला  निर्वाचित भएकी हुन्।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer