तानसेन। पाल्पाका दशवटै स्थानीय तहहरु ‘पूर्ण खोप’ सुनिश्चितता भएका स्थानीय तह भएका छन् । दुई नगर र आठ गाउँपालिकाले सबै बालबालिकालाई नियमित खोप पाउने आधार सुनिश्चित गरे पछि सबै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।
दशवटै स्थानीय तहहरुले पालिकाभरका सम्पूर्ण बालबालिकाले खोप पाए नपाएको सर्वेक्षण गरेर पश्चात फरक फरक समयमा पालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
जन्मेदेखि १५ महिनासम्मका सबै बालबालिकाले पूर्ण रूपमा नियमित खोप पाएपछि सबै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए ।
यो अभियानमा १६ देखि २३ महिनासम्मका छुटेका बालकालिकाहरुलाई समेत खोजेर पूर्ण रूपमा खोप सुनिश्चितता गरिएको छ ।
सबै पालिकाले मापदण्ड पुरा गरेको हुँदा अब छिट्टै जिल्ला खोप समन्वय समितिको बैंठक बसी जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना भएको जिल्ला घोषणा गर्ने तयारी भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
पूर्ण खोप सुनिश्चितताका लागि ९५ प्रतिशत सूचकांक पुरा गर्नु पर्ने हुन्छ । पाल्पालाई २०७० सालमा नै पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको थियो ।
बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चित गर्न प्रत्येक वर्ष पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने गरिन्छ ।





















