
तानसेन। पाल्पाको रिब्दीकोट गाउँपालिकाले अभिभावक बिहीन बालबालिकाहरुलाई कक्षा १२ सम्म पढाउने भएको छ ।
अभिभावक बिहीन परिवारका बालबालिकाको माध्यमिक तहसम्म शिक्षा पुरा गर्न पालिकाले यो कदम चालेको हो । शिक्षा आर्जनबाट बञ्चित ती बालबालिकाहरुदाई पहुँच विस्तारका लागि गाउँपालिकाले अभिभावकीय भूमिका निभ्याउन लागेको गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले बताए ।
शिक्षाबाट बञ्चित हुनुपर्ने बाध्यता हटाउन गाउँपालिकाले नीतिगत रुपमा व्यवस्था गर्न थालेको र कसैको अभिभावक गुमाएकै कारण आर्थिक बोझले विद्यालय शिक्षाबाट बञ्चित रहेको अवस्थाको अन्त्य गर्ने लक्ष्य पाकिाको रहेको अध्यक्ष कार्कीले बताए ।
उनले भने -“आर्थिक अभावले शिक्षा लिनबाट बञ्चित भएकाले अब चिन्ता नगर्नूहोस्, त्यस्ता परिवारको तथ्यांक संकलन गरी पढाउने जिम्मा हामीले लिनेछौं ।”
अभिभावक गुमाएका परिवारका सन्तानहरु, वा अभिभावक हराएका परिवारका सन्तानहरुले विद्यालय शिक्षा पुरा नगरी कक्षा छाड्न बाध्य भएका छन् । विशेष गरी छोरा मानिसहरु भारतमा रोजगारीका लागि जान बाध्य भएको अवस्था अशिक्षा पनि हो ।
छोरीहरु आफन्तको घरमा आश्रय लिनुपर्ने अवस्था छ । यसरी विद्यालय शिक्षाबाट बञ्चित रहेको अवस्था गाउँपालिकाले शिक्षामा सबैको पहुँच विस्तार गर्न लागेको हो । कक्षा १२ सम्म आर्थिक अभाव भएका अभिभावक बिहीन परिवारका सदस्यलाई केन्द्रीय गरी सहयोग गर्न खोजिएको गाउँपालिले जनाएको छ ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पवन अर्यालका अनुसार अभिभावक बिहीन बालबालिकाको तथ्यांक संकलन थालिएको हो । तथ्यांक संकलन कार्य पुरा भएपछि काम अगाडि बढ्ने छ ।
प्रमुख अधिकृतले भने, “कक्षा १० भन्दा तल नै पढ्न छाडेकालाई नियमित अध्ययन गर्ने व्यवस्था गर्ने हो । कक्षा दश पास भएकाहरुका सम्वन्धमा उनीहरुको चाहनाका आधारमा सुविधा उपलब्ध गराउन थालिएको हो ।”
“कार्यपालिकाको पहिलो बैठकबाट निर्णय भइ आएको छ । आगामी आर्थिक वर्षदेखि कार्यक्रम सञ्चालन गर्न बजेटको समेत व्यवस्था गरिएको छ । यस कार्यक्रमले अभिभावक बिहीन परिवारका सन्तानले अध्ययन गर्ने सुवर्ण अवसर प्राप्त गर्ने छन्।” उनले भने।
गाउँपालिकाले आफनो नीति तथा कार्यक्रम गापा स्तरीय एक नमूना विद्यालय निर्माण गरिनेछ । हाल नेपाली माध्यममा मात्र पठनपाठन हुँदै आएकोमा विद्यालय शिक्षालाई गुणस्तरीय र समयसापेक्षक बनाउन अंग्रेजी, नेपाली र मातृभाषामा शिक्षा दिने बहुभाषिक नीति अवलम्वन गरिने जनाएको छ ।
प्रधानाध्यापक, शिक्षक, अभिभावक संघ, र विद्यालय व्यवस्थापन समिति विद्यालयको सर्वांगीण सुधार योजना निर्माण सम्बन्धि तालिम र अन्य शिक्षकहरुलाई मागमा आधारित प्रविधियुक्त क्षमता विकास तालिम संञ्चालन गर्ने पनि गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाभित्रका विद्यालयहरुमा घटदै गएको विद्यार्थीको संख्या बढाउन शिक्षालाई गुणस्तरीय र शिक्षकहरुको मनोवल वृद्धि गर्न पालिकामा उत्कृष्ट हुने विद्यालयका शिक्षकहरुलाई सम्मान गर्ने नीति लिइनेछ ।
संस्कारसहितको शिक्षा आजको आवश्यकता भन्ने कुरा आत्मसाथ गर्दै सोको लागि आवश्यक व्यवस्था मिलाइने र विद्यार्थीहरुलाई कानुनी प्रक्रियागत तथा समसामयिक विषयमा जानकारी गराउने कार्यक्रम समेत रहेको गाउँपालिकाले जनाएको छ ।