पाल्पा । गायक एवं सर्जक पुरुषोत्तम गैरेले शनिबार ‘भन्छौ सधै सरी’ बोलको लोकदोहोरी गीत युट्युबमा सार्वजनिक गरेका छन् । यो गीतमा उनले स्वर भने दिएका छैनन् ।
चर्चित बाल गायक–गायिका सुप्रिम मल्ल ठकुरी र पूजा देवकोटाले स्वर दिएको गीतका शब्द राजु सुनामले लेखेका हुन् । पुरुषोत्तमकै संगीत रहेको गीतलाई कृष्ण बिकले एरेन्ज गरेका छन् । गीतको भिडियोमा पनि सुप्रिम र पूजालाई नै प्रस्तुत गरिएको छ ।

अनिश दवाडीको निर्देशन रहेको भिडियोलाई सन्तोष तिमिल्सिनाले छायाँकन, अमृत चापागाइँले सम्पादन गरेका हुन् ।
गायक एवं सर्जक गैरेले एक सयभन्दा बढी गीतमा स्वर दिएका छन् ।
‘बुटवल तनहुँ खैरेनी’, ‘जाले रुमाल बैना’ , ‘पिंजडाको चरी’लगायतका उनका थुप्रै गीतलाई स्रोता दर्शकले रुचाएका छन् । पछिल्लो समय उनले आफ्नो सांगीतिक सक्रियतालाई थप बढाएका छन् ।






