पाल्पा । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक हुँदैछ् । राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्न दिउँसो बोर्डको बैठक बोलाएको छ । दिउँसो ३ बजे नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी छ ।
परीक्षा नियन्त्रक अर्जुन रायमाझीले एसईईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा भएको र नतिजा आज सार्वजनिक हुने जानकारी दिए । कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।
यसरी हेर्न सकिन्छ एसईईको नतिजा
एसईईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिन्छ । परीक्षा बोर्डले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने जानकारी दिएको छ । नेपाल टेलिकमको १६०० नम्बरमा डायल गरी प्राप्त निर्देशन अनुसार पनि नतिजा थाहा पाउन सकिनेछ ।
यसैगरी राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट र नेपाल टेलिकमको वेबसाइटबाट पनि नतिजा थाहा पाउन सकिन्छ ।