
पाल्पा । पाल्पा जिल्लाको विभिन्न स्थानमा पनि छायाँकन गरिएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’मा ‘के वर मागी फक्र्यौ’बोलको गीत समावेश गरिएको छ ।
सोमबार काठमाडौंका एक कार्यक्रमकाबीच उक्त गीत सार्वजनिक गरिएको छ। रमेश पौडेलको रचना रहेको ‘के वर मागी फक्र्यौ’ गीत दुई दशकअघि नारायण रायमाझीको संगीत र रामभक्त जोजिजुको स्वरमा सार्वजनिक भएर निकै हिट भएको थियो । उक्त कालजयी गीतलाई अहिले रिमेक गरिएको हो ।
श्यामश्वेत रसाईलीको एरेन्ज तथा मिक्सिङ रहेको रिमेक गीतमा युवा पुस्ताका गायक निशान भट्टराईले स्वर दिएका छन् । सार्वजनिक गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरू अभिनेता प्रकाश सपूत र अभिनेत्री केकी अधिकारी रोमान्टिक अवतारमा प्रस्तुत छन् । गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् ।
‘परदेशी २’ दशैंको अवसर पारेर असोज १४ गतेदेखि नेपालसँगै विभिन्न देशमा एकसाथ प्रदर्शनमा आउँदैछ ।
चलचित्रमा प्रकाश र केकीका अलावा वर्षा शिवाकोटी, दीलीप रायमाझी, प्रशान्त तामाङ, नीर शाह, रमा थपलिया, सविन बास्तोला, देवेन्द्र बब्लु, रोशनी कार्की लगायतको अभिनय छ । नारायण इन्टरनेशनल प्रा.लि.को प्रस्तुतीमा राजेश बंशल र नारायण रायमाझी मिलेर निर्माण गरेको चलचित्रको कथा रमेश बिजीले लेखेका हुन् । मानकृष्ण महर्जनको छायांकन रहेको चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् । चलचित्रमा नेपाली विद्यार्थीमा रहेको विदेश मोहलाई मुख्य कथावस्तु बनाइएको छ । अध्ययनसँगै अन्य परिवेशमा परदेश पुगेकाहरूको कथा–व्यथालाई समेत चलचित्रमा प्रस्तुत गरिएको निर्माण टिमले जानकारी दिएको छ ।
चलचित्रको पाल्पाको माथागढी गाउँपालिकाको झडेवा देवगीर, कसेनी, सराई लगायतका स्थानमा छायाँकन गरिएको थियो । चलचित्र छायाँकनका लागि निर्देशक रायमाझी, अभिनेता दीलिप, प्रशान्त, प्रकाश सपूत, अभिनेत्री केकी, कलाकार नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लू लगायत पाल्पामा आएका थिए । पाल्पाको झडेवामा जन्मिएका निर्देशक रायमाझीले आफ्ना यसअघिका चलचित्र ‘गोर्खा पल्टन’ र ‘परदेशी’ पनि पाल्पामा छायाँकन गरेका थिए । दुबै चलचित्र अत्यन्तै प्रतिकूल समयमा प्रदर्शनमा आएपनि सुपरहिट भएका थिए ।
चलचित्रलाई काठमाडौंमा डीसीएन र काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्नेछ ।