रामपुरमा जीप र अटो ठोक्किदा एक जनाको मृत्यु

तानसेन।पाल्पामा जीप र अटो एक आपसमा ठोक्किदा एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्। जिल्लाको रामपुर नगरपालिका वडा नं.५,स्थित कालीगण्डकी करीडोरको सानीअमराईमा अटो र जिप ठोक्किदा अटो चालकको ज्यान गएको छ ।

शुक्रबार साँझ कालीआँपबाट रामपुर बेझाँडतर्फ आउदै गरेको लु १ ज ४१३३ नम्बरको जिप र विपरित दिशाबाट जाँदै गरेको लु १ ह ४१३८ नम्बरको अटो एक आपसमा ठोक्किदा अटो चालक निस्दी गाउँपालिका–२, सहलकोटका ४५ वर्षीय चोपबहादुर ढेंगाको ज्यान गएको प्रहरील जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते उनको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा शुक्रबार राति ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै अटोमा सवार रामपुर नगरपालिका ३ ओइरेघाटका ३८ वर्षीय सुरेन्द्र थापा, उनको छोरी १० वर्षीया अञ्जली थापा र १२ वर्षीया पुष्पा थापा घाईते रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । घाइतेमध्ये सुरेन्द्र र अञ्जलीको अवस्था मध्यम रहेको छ ।

दुवै जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको तथा पुष्पाको उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ । जीप चालक रामपुर नगरपालिका–४ इस्लामपुरका ३० वर्षीय महमद रफिकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया