तानसेन। सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्ड भासिएर आवागमन बन्द भएको छ । एक महिना अघिदेखि सो राजमार्गको हिउँदेखोलामा केही मात्रामा भासिएको सडक आज दिउँसो सवारी संचालन नै गर्न नमिल्नेगरी खसेको हो ।
सडक डिभिजन पाल्पाका अनुसार ६० मिटर सडक भासिएको हो । सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी महेश्व लम्सालका अनुसार कमजोर माटोमा निरन्तरको वर्षाका कारण पुरै सडक भासिएको हो । सडक पूर्ण रुपमा भासिएपछि सडक डिभिजन पाल्पाले रातभर काम गरेर नयाँ मार्ग बनाउने जनाएको छ ।
आज रातभर पानी नपरेमा तीन बटा मेसिनमार्फत भित्ता खनेर भोलीबाट सडक खुलाउने प्रयास हुने सूचना अधिकारी लम्सालले बताए । सडक भासिएपछि सुनौली पोखराको यात्रामा निस्केका यात्रुहरु हिउँदे खोलामै रोकिएका छन् ।
सिद्धार्थ राजमार्ग अवरुद्ध हुँदा बुटवलबाट पोखरा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, बागलुङसम्म जाने यात्रुका साथै र त्यसतर्फबाट बुटवलतर्फ जाने सवारी साधन र यात्रु बाटोमै अलपत्र छन् ।
यसैबीच पाल्पाका विभिन्न क्षेत्रबाट तानसेन हुँदै बुटवलका लागि हिडेका सवारीलाई भने प्रहरीले तानसेनदेखि नै रोक लगाएको छ ।