पाल्पा। पाल्पामा जन्मिएर हाल अमेरिकालाई कर्मथलो बनाएका गायक एवं सर्जक कमल खनालले नयाँ गीत सार्वजनिक गरेका छन् । गीतमा चर्चित बालगायक–गायिका सुप्रिम मल्ल ठकुरी र पुजा देवकोटाले स्वर दिएका छन् ।

खनाल स्वयंमको शब्द एवं संगीत रहेको गीतलाई मनोज खड्काले एरेन्ज गरेका हुन् । लामो समयदेखि अमेरिकामा बस्दै आएका खनालले सार्वजनिक गरेको गीतको कहानी भने बाध्यताले खाडी मुलुक पुग्ने महिलाहरुको हो ।

‘आफ्नो साना–साना सन्तानहरुलाई छाडेर आकाशमा उडेकी आमा बाकसमा फर्किँदाको पीडा गीतमा समेटेका छौं’ गीतकार एवं संगीतकार खनालले नयाँधारसँग भने ।

विदेशमा नेपाली महिलाले भोग्नुपरेको पीडा र मृत्यु, अर्कोतर्फ नेपालमा पारिवारिक विचलनको दृश्यहरु समेत गीतको भिडियोमा समेटिएको उनले बताए । भिडियोलाई मिराज अर्यालले निर्देशन गरेका हुन् । भिडियोमा सारिका केसी, कुलदिप अधिकारी, बाल कलाकारद्धय उमेश ढकाल र मञ्जिला बानियाको अभिनय छ ।

आयुषा क्षेत्री, नरेश धिताल, मिथिला बानिया, शान्ती भट्ट, अशोक अर्यालले पनि भिडियोमा अभिनय गरेका छन् । दिनेश विष्टको छायाँकन रहेको भिडियोलाई निर्देशक मिराज स्वयंमले सम्पादन गरेका हुन् । गीतको अडियो र भिडियो दुबै मर्मस्पर्शी छ । गीतका प्रस्तुतकर्ता खनाल पाल्पाको भैरवस्थानमा जन्मिएका गायक हुन् ।

अहिले अमेरिकामा रहेर पनि उनले नेपाली लोकसंगीतलाई उत्तिकै माया गर्दै आएका छन् । यसअघि उनको स्वर रहेका ‘डाली पलायो’, ‘छुट्टिने दिन आयो’, ‘न्याउली रुदा यो मन रुन्छ नी’, ‘भेटौंला अवश्य’ लगायतका गीतहरु रुचाईएका छन् । सार्वजनिक ‘बाकस’ गीतलाई पनि स्रोता दर्शकले रुचाउने खनालको अपेक्षा छ ।

 

‘एकदमै राम्रो प्रतिक्रियाअरु आएका छन् । जतिले हेर्नुभएको छ सबैले मन पराउनुभएको छ’ गीतको प्रारम्भिक प्रतिक्रियाबारे खनाल भन्छन् । शनिबार सार्वजनिक गरिएको भिडियोले आईतबार साँझसम्म झण्डै ४० हजार भ्युज पाईसकेको छ । भिडियोमा आएका अधिकांश प्रतिक्रियाहरु सकारात्मक छन् ।

भिडियो

तपाईको प्रतिक्रिया