तानसेनका विपन्न परिवारलाई विद्युत महशुल छुट

तानसेन। पाल्पाको तानसेन नगरपालिकाले विपन्न परिवारको न्युनतम विद्युत् महशुलमा छुट दिने भएको छ। नगरभित्रका विपन्न समुदायका एक हजार ८१५ घरपरिवारलाई २० युनिटसम्मको विद्युत् महसुल नगरपालिकाले तिर्ने भएको हो ।

नगरपालिकाले ११ औ नगरसभाबाट पारित भए अनुसार चालु आर्थिक वर्षदेखि पाँच एम्पीएर क्षमताको मिटर जडान भएका र मासिक न्युनतम २० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्तालाई महसुलमा अनुदान दिन लागेको हो। जसका लागि नगरपालिकाले नेपाल विद्युत प्राधिकरण पाल्पा वितरण केन्द्रसंग सम्झौता समेत गरेको छ।

यो आर्थिक वर्षमा निवेदन परेका सबै उपभोक्ताको न्युनतम विद्युत् महसुल नगरपालिकाले बुझाउने नगरपालिकाकी कार्यवाहक प्रमुख प्रतीक्षा सिंजालीले जानकारी दिइन् । विद्युत् प्राधिकरण पाल्पा वितरण केन्द्रसँग सम्झौता गरेर रकम बुझाइने पनि उनले बताइन् ।

ग्राहकले कुनै महिना १।२ युनिट धेरै विद्युत प्रयोग गरेमा पनि उनीहरुले न्युनतम युनटिको शुल्क स्थानीय सरकारले नै तिरिदिने व्यवस्था गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीलले बताए । विपन्न समुदायका नागरिकलाई आधारभूत विद्युत् सेवा प्रदान गर्ने कार्य आगामी वर्षमा पनि थप हुँदै जाने पनि नगरपालिकाले जनाएको छ।

उपभोक्तालाई न्युनतम विद्युत् महसुल दिनका लागि विद्युत् प्राधिकरण पाल्पा वितरण केन्द्रसँग भएको सम्झौताअनुसार एकमुष्ठ रकम नगरपालिकाले दिनेछ।

सम्झौता अनुसार मासिक सरदरमा २० युनिटसम्मका ३० रुपियाँ नगरपालिकाले दिने प्रवक्ता यादवसिंह कार्कीले बताए । १४ वडा रहेको तानसेनमा सबै भन्दा धेरै वडा नं. ११ मा ४८२ र सबै भन्दा कम २ नं. वडामा एक जना उपभोक्ताले सहुलियतमा वद्यिुत उपयोग गर्न पाउनेछन् ।

तपाईको प्रतिक्रिया