
तानसेन। पाल्पाका तीन महिना नपुग्दै डेंगु संक्रमितको संख्या पाचँ सय नाघेको छ । स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको तीन महिना नपुग्दै सो संख्यामा संक्रमित थपिएका हुन् ।
आर्थिक वर्ष २०७७।०७८ मा शुन्यमा रहेको संक्रमण गत आर्थिक वर्ष ०७८।०७९ मा जम्मा २७ जनामा सिमित रहेको थियो । तर पछिल्लो समय देशभर नै संक्रमण महामारीकै रुपमा बढेसंगै पहाडी जिल्ला पाल्पामा पनि डेंगुका बिरामी बढेका हुन् ।
यो आर्थिक वर्षको सुरुवातदेखि नै संक्रमण बढेको थियो । चालु आर्थिक वर्षको साउन महिनामा जम्मा २३ जनामा मात्र संक्रमण देखिएकोमा भदौंमा १३४ र असोज महिनाको हालसम्म ४२९ जना बिरामी थपिएसंगै संक्रमण बढेको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसुधन भट्टराईले बताए ।
पछिल्लो समय सरकारी स्वास्थ्य संस्थासंगै निजी मेडिकल र क्लिनिकमा पनि लक्षणसहितका बिरामी बढेपछि दैनिक संक्रमित थपिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
एडिज इजिप्टी नामक लामखुट्टेको प्रजातिको पोथीले टोकेपछि यो रोग फैलिन्छ । यो प्रजातिको लामखुट्टेको शरीरमा सेतो–कालो धर्सा हुन्छ भने यो अन्य लामखुट्टेभन्दा केही ठूलो हुन्छ । यो लामखुट्टेले प्राय उज्यालोमा अथवा बिहानीपख टोक्छ । वर्षायाम र त्यसपछिको समयमा यो लामखुट्टे निकै ठूलो परिमाणमा देखापर्छ । यो प्रजातिको लामखुट्टे अन्य प्रजातिको लामखुट्टेको तुलनामा धेरै माथिसम्म उड्न सक्दैन ।
हाल देशभर नै मौसममा आएको बदलीका कारण पनि रोग फैलिन सहज भएको हुँदा तथा दशैं मनाउन बाहिरी जिल्लाबाट भित्रिएका नागरिकबाट जिल्लामा थप संक्रमित फैलिएको हुनसक्ने स्वास्थ्य कार्यालय पालपाका सूचना अधिकारी टीकाराम अधिकारीले बताए । हाल जिल्ला सदरमुकाम तानसनसंगै रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकामा संक्रमित धेरै देखिएको स्वास्थ्य कार्यालय पाल्पाको तथ्यांकमा उल्लेख छ ।
विगतमा तराईका जिल्लामा मात्र देखिने डेंगुको संक्रमण पछिल्लो समय पहाडी जिल्लाहरुमा पनि देखिन थालेको छ । जलवायु परिवर्तन मानिसहरुको धेरै आवागमन हुने हुँदा संक्रमण फैलिएको हुनसक्ने विज्ञहरुले बताएका छन्।
यसैबीच जिल्लामा डेंगुका संक्रमित बढेसंगै आवश्यक रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि सब स्थानीय तहलाई पूर्व तयारी गर्न पनि स्वास्थ्य कार्यालय पाल्पाले अनुरोध गरेको छ ।