
तानसेन। आउँदो मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाल्पास्थित गठबन्धनका उम्मेदवारहरु मतदात भेटघाटमा व्यस्त भएका छन् । निर्वाचन नजिकिएसंजै आफ्ना प्रतिबद्धता र एजेण्डा बोकेर उम्मेदवार र दलका नेताहरु मतदाता समक्ष पुगेका हुन् ।
बिहीबार गठबन्धनका दलबाट पाल्पा क्षेत्र नं २ मा साझा उम्मेदवारी दिएका प्रतिनिधिसभा सदस्यका उम्मेद्वार सोमप्रसाद पाण्डेयले रैनादेवी छहरा र मदनपोखराका मतदातालाई भेटेका छन् । मतदातासंगको भेटमा पाण्डेयले आम मतदाता साथ र विश्वासका कारण आफुलाई गठबन्धनले उम्मेद्वार बनाएको बताएउदै नेता पाण्डेयले पाल्पामा लामो समय सांसद भएर विभिन्न विकास निर्माणका काममा सहकार्य गरेर अगाडी बढेको बताए ।
नेकपा एकीकृत समाजवादीका लुम्बिनी अध्यक्ष समेत रहेका नेता पाण्डेयले जनताका आवश्यकता र यसअघि सुरु गरेका ठूला योजनालाई सम्पन्न गराउन आफू क्रियाशील रहेने प्रतिबद्धता समत व्यक्त गरेका छन् ।
यसअघि निर्वाचित भएको भन्ने प्रशंगमा आफूले जिल्लाको विकास निर्माणका लागि निरन्तर पहल गरेको हुँदा विकास निर्माणको काममा गरेको योगदानकै आधारमा पाल्पाली जनताले पुनः सांसदमा निर्वाचित गर्ने विश्वास समेत व्यक्त गरेका थिए । विभिन्न मतदातासंगको छलफलका क्रममा नेता पाण्डेयले ओलीको निरंकुश र असंवैधानिक कदमका कारण पार्टी विभाजन गर्नु परेको हुँदा संविधान रक्षाको लागि गठबन्धन आवश्यक रहेको पनि बताएका थिए ।
यस्तै गठबन्धनका तर्फबाट प्रदेशसभा क्षेत्र नं. २ (१) का उम्मेद्वार वीरबहादुर रानाले पाल्पामा गठबन्धनको जीत सुनिश्चित रहेको बताएका छ। उनले लामो समय राजनैतिक रुपमा महत्वपूर्ण योगदान दिएका नेताहरु उम्मेद्वार भएका कारण पाल्पाली जनताले विजयी बनाउनेमा आफू विस्वस्त रहेको बताए । नेता रानाले नेकपा एमालेले असंवैधानिक कदमको साथ दिएकाले जनता त्यसका विरुद्ध गठबन्धनको साथमा रहेको दाबी गरे।
रैनादेवी छहरामा पनि घरदैलो
गठबन्धन दलको तर्फबाट प्रदेशसभा पाल्पा क्षेत्र नं. २ (२) का साझा उम्मेदवार तुलाराम घर्ती(बसन्त) ले मतदातासंगको भेटमा आफू सधैं जनताको सेवामा लाग्ने बताएका छन् ।
उनले रैनादेवी छहराका विभिन्न गाउँमा पुगेर मतदातासंगको भेटका क्रममा सबै मोटरबाटोको स्तरवृद्धि गर्ने, नागरिकका आधारभूत आवश्यकतादेखि गाउँमै रोजगारीका लागि कार्यक्रम ल्याउने र युवा स्वरोजगारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
अहिले निर्माण भएको गठबन्धन सत्ता नेता र पार्टीको स्वार्थका लागि नभएर ओलीले गरेको प्रतिगमनकारी कमदका विरुद्ध रहेको हुँदा यसमा सबै नागरिक सचेत भएर मतदान गर्न पनि उनले आग्रह गरेका छन् ।
यसैबीच रैनादेवी छहरा तथा जिल्लाका अन्य स्थानमा गठबन्धन दलका उम्मेदवार जिताउन जिल्लास्थित गठबन्धन दलका नेताहरु पनि जनतासामु प्रतिबद्ध भएर हिडेको गठबन्धन दलका प्रचार संयोजक झपेन्द्र गहिरेले जानकारी दिए ।