गठबन्धनलाई मतदान नगरे ‘न्याउरी मारी पछुतो’हुन्छः नेता नेपाल

तानसेन। नेपाली कांग्रेसका केन्द्रीय प्रचार विभाग सदस्य तथा पूर्व केन्द्रीय सदस्य हरिप्रसाद नेपालले गठबन्धनलाई मतदान नगरे न्याउरी मारी पछुतो हुने बताएका छन् ।

अघिल्लो निर्वाचनमा एमालेले बहुमत पाएर दुई।दुई पटक संसद विघटन गरेर जनताको अभिमतको कदर गर्न नसकेको नेता नेपालले बताए । गठबन्धन दलले पाल्पाको रिब्दीकोट गाउँपालिकाको भैरवस्थान र खस्यौलीमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता नेपालले विपक्षीको अनावश्यक भ्रममा नपर्न मतदातालाई आग्रह गरे ।

पूर्व सांसदद समेत रहेका नेता नेपालले जनताको अभिमतलाई गठबन्धनले कदर गर्ने हुँदा गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति हिमाल दत्त श्रेष्ठले सहमति सहकार्य र एकताको सन्देश दिन गठबन्धन गरेको बताउँदै विपक्षीले गरेको अनावश्यक भ्रममा नपर्न आग्रह गरे । उनले सबै एकमतका साथ अघि बढ्न सके मात्र जनताले सोचेअनुसारको परिवर्तन हुने बताए । नेपालको खास।खास परिवर्तनका बेला कांग्रेस कम्युनिष्ट मिलेको इतिहास रहेको बताउँदै देशको समृद्दिका लागि अहिले गठबन्धन भएको श्रेष्ठले उल्लेख गरे ।

गठबन्धनका तर्फबाट पाल्पा क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार सोमप्रसाद पाण्डेयले पाल्पाको विकासमा जतिबेला पनि प्रतिबद्ध भएर लागेको बताए । उनले संविधान विरोधीहरुका विरुद्ध गठबन्धन स्वाभाविक, प्रभावकारी र दीगो हुने पनि बताए । नेकपा एकीकृत समाजवादीका लुम्बिनी प्रदेश अध्यक्ष समेत रहेका नेता पाण्डेयले सत्ताको मातमा ओलीले संविधानले निर्धारण गरेका राजनीतिक नियममाथि पटक–पटक प्रहार गरेको र संवैधानिक निकाय कब्जा गर्न थालेकाले त्यसका बिरुद्ध गठबन्धन भएको बताए ।

नेता पाण्डेयले असंवैधानिक र प्रतिगामी कदम रोक्न तथा संवैधानिक प्रक्रियालाई सहि बाटोमा ल्याउन ऐतिहासिक प्रक्रिया प्रारम्भ भएको बताउदै त्यसको आधारस्तम्भ नै अहिलेको सत्तारुढ कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा सम्मिलित पाँचदलीय वाम–लोकतान्त्रिक गठबन्धन भएको बताए ।

कार्यक्रममा निर्वाचन क्षेत्र नं. २ (२) का उम्मेदवार तुलाराम घर्तीमगर (बसन्त) ले यो गठबन्धन ऐतिहासिक आवश्यकता भएको र असंवैधानिक एवं प्रतिगामी चिन्तनधाराविरुद्ध बनेको बताए ।

माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका नेता घर्तीमगरले कांग्रेस र कम्युनिस्ट मिलेरै छयालीस र बैसठ्ठी–त्रिसठ्ठी सालको जनआन्दोलन गरेका भन्दै यिनै शक्तिबीचको सहमतिबाट संविधानसभाले यो संविधान बनाएको बताए । लोकतन्त्र र संविधानका आधारभूत मूल्य र मान्यता रक्षाको सवालमा एक ठाउँमा उभिनु स्वाभाविक भएको नेता घर्तीले बताए ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य अनिलकिशोर घिमिरे, एकीकृत समाजवादीका केन्द्रीय सदस्य यादव बहादुर रायमाझी, माओवादी केन्द्र जिल्ला संयोजक राजेन्द्र विक, राष्ट्रिय जनमोर्चाकी नरमती सिंजाली, नेपाली कांग्रेस रिब्दीकोट गाउँपालिका सभापति रामचन्द्र पाण्डेलगायतले गठबन्धनले राजनीतिक स्थायित्वलाई टेवा दिन सक्ने बताए ।

यस्तै उम्मेदवारहरूले भैरवस्थानको भार्कोट, रानीठाटी, ढेकुलडाँडा, खस्यौलीको हार्थोकलगायतका स्थानमा घरदैलो मार्फत मतदाताले भेटेको नेकपा एकीकृत समाजबादीका प्रचार विभाग प्रमुख पदम गैरेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया